प्रचण्डले नआँटेको भए दुई पार्टीको एकता हुने थिएन :प्रम ओली - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रचण्डले नआँटेको भए दुई पार्टीको एकता हुने थिएन :प्रम ओली



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेर प्रसंशा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले एकतामा साहस देखाएको भन्दै उच्च प्रसंशा गरेका हुन् । प्रचण्डले नआँटेको भए दुई पार्टीको एकता नहुने पनि ओलीले जिकिर गरे ।

सार्वजनिक कार्यक्रममा प्रचण्डलाई बिरलै ‘कमरेड प्रचण्ड’ भनेर सम्बोधन गर्ने ओलीले भने, ‘विशेषगरी पार्टी एकताका लागि कमरेड प्रचण्डलाई ध्यावाद भन्न चाहान्छु । उहाँले ठूलो आँट र लचिलोपनका साथ काम नगर्नुभएको भए यो एकता सफल हुँदैन्थ्यो ।’

उनले समयानुकुल ढंगले मार्क्सवादको प्रयोग कसरी गर्नुपर्छ भन्ने कुरा आफ्नो पार्टीले देखाएको बताए । नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो संगठित आन्दोलनको ७० वर्ष पुरा गरेको भन्दै उनले यो सिंगै देशका लागि खुसीको कुरा भएको बताए ।

उनले नेकपाको एकतामा देश नै खुशी हुनुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठूला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनु पर्ने बताए । ‘हाम्रो एकतामा कम्युनिष्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनु पर्दछ’, अ‍ोलीले भने, ‘किनभने यो स्थिरताको सुरुवात हो ।’

प्रधानमन्त्री ओलीले काँग्रेसका केही नेता अझै पनि राजतन्त्र ब्यूताउँने सपना देखिरहेको बताए । ‘विगतमा काँग्रेसका कारण प्राप्त उपलब्धीहरु जोगाउन सकिएन । उसको बानी सहयात्रीहरुलाई अविश्वास गर्ने र बिरोधीहरुसँग मिल्ने छ । अहिले पनि त्यो बानी गएको छैन’ ओलीले भने ।

अब केही दिनमा आउने सरकारको नीति तथा कार्यक्रममा गत बर्ष जनताले अत्याधिक माग गरेका तर, समेट्न नसकिएका मागहरु सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताए ।