प्रचण्डलाई अफर : पार्टी एकता भाँडे प्रधानमन्त्री पक्का - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्रचण्डलाई अफर : पार्टी एकता भाँडे प्रधानमन्त्री पक्का



काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन प्रतिक्रियावादीहरुका तर्फबाट प्रधानमन्त्रीको अफर आएको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति सभालाई सम्बोधन गर्दै दाहालले कहिले कसैलाई कहिले कसैलाई प्रधानमन्त्री बन्ने अफर दिएर पार्टी एकता बिथोल्ने ठूलो प्रयास भएको बताए। तर आफूहरु कसैको लोभ लालच र धम्कीको प्रलोभनमा नपरेको उनको भनाई छ ।

‘पार्टी एकता हुन नदिन प्रतिक्रियावादीका तर्फबाट प्रधानमन्त्रीको अफर गर्ने कोशिस नभएका होइनन् तर हामीले कुनै लोभ लालच, प्रलोभन र धम्कीसँग नझुकेर पार्टी एकता गर्यौँ, यसलाई बचाउने जिम्मेबारी अब तपाई हाम्रो काँधमा आएको छ’, प्रचण्डले भने, ‘इतिहासले हामीलाई ठूलो जिम्मेबारी दिएको छ ।

उनले पार्टी एकता हुनै सक्दैन, भए पनि टिक्दैन भनेर गरिएको प्रचार जनताले नै झुटो प्रमाणित गरि दिएको बताए ।

‘उमेद्बार छान्नमै यीनीहरुको झगडा पर्छ र सकिन्छन् भनियो, त्यसपछि कम्युनिष्टले जिते अधिनायकवादी हुन्छन् भनेर पनि प्रचार गरियो तर यी सब कुराहरुलाई पार लगाउँदै हामीले असाधारण विजय गर्यौँ’, प्रचण्डले भने, ‘त्यसपछि पनि पार्टी एकता टिक्दैन भनेर प्रचार नभएका होइनन् ।’

प्रचण्डले नाटकीय ढंगबाट पार्टी एकता भएको नभइ यो ठूलो राजनीतिक प्रक्रियापछि मात्रै सम्भव भएको बताए ।

‘जनयुद्धका बेला हामी कम्युनिष्ट नेताहरुबीच भएका वार्ता र संवादका कुराहरु अहिले पनि धेरैलाई थाहा छैन, माधव नेपाल यहिँ हुनुहन्छ, उहाँ र म बीच हामी भूमिगत अवस्थामै रहेका बेला पटक-पटक कम्युनिष्ट एकताका बारेमा छलफल भएको विषय बाहिर आएकै छैन, १२ बुँदे सहमति, १९ दिने जनआन्दोलन, शान्ति सम्झौता जस्ता ठूला राजनीतिक परिघटनाहरु पनि कम्युनिष्ट पार्टी एकतासँग जोडिएको छ’, प्रचण्डले भने, अहिले फ्याट पार्टी एकता भएको होइन, यसमा धैरै प्रक्रिया रह्यो ।’

उनले नेताहरुबीच आलोचना, विरोध र निषेध भएका कुरा मात्रै बाहिर चर्चामा रहेको बताए ।

‘आलोचना र विरोधका कुरा मात्रै बाहिर आए, हामीबीच संवाद र सहकार्य लामो छ, कसरी सकारात्मक दिसामा कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सकिन्छ भनेर नेताहरुबीच जति मेहनत भएको थियो । आम रुपमा त्यो जानकारीमा थिएन । इतिहासको पाटोलाई खोतल्नुहोस्’, प्रचण्डले भने, ‘किन एउटै पार्टी भयो । यसको गर्वमा थुप्रै संवाद र सहकार्य छन् । ’

प्रचण्डले पार्टी एकताको कामलाई अब औपचारिकता दिन मात्रै बाँकी रहेको बताए । उनले साउन महिनाभित्रै सम्पूर्ण काम सक्ने र स्थायी समिति र केन्द्रीय समितिको कैठक पनि बसेर देशव्यापी अभियानमा पार्टीलाई लैजाने घोषणा गरे ।