अब कसैसँग गठबन्धन गर्दैनौँ : प्रचण्ड - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

अब कसैसँग गठबन्धन गर्दैनौँ : प्रचण्ड



विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् ।

प्रेस सेन्टर मोरङले बुधबार तराई–मधेसकेन्द्रित अभियान सुरु गरेपछि विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । “अभियान भाषण गर्ने र हिँड्ने भन्दापनि किसान, स्थानीय, पत्रकार र सबै क्षेत्रहरूसँग सम्बन्ध सुदृढीकरण गर्ने हो,” प्रचण्डले भने । यस क्रममा आफूले ०६४ को झल्को पाएको सुनाए ।

दक्षिण भेगका जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या, मुद्दा बुझ्न र नयाँ जनचेतनाका लागि गरिएको अभियान सुरु गरिएको बताए । आफ्नो सरकारले सुशासन सुरु गरेपछि अहिलेको गठबन्धनको सरकार बनेको बताउँदै उनले परिस्थिति बुझाउन जनतासँग गएको सुनाए ।

उपराष्ट्रपतिलाई पार्टीमा ल्याउन हतार नभएको बताउँदै पार्टीको कुन तहमा ल्याउने भन्ने छलफल हुने बताए । काँग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै कोसीको उपचुनावमा माओवादी ठूलो पार्टी भएको बताए । माओवादी सरकार भ्रष्टाचारीले ढालेको आरोप लगाउँदै स्थिरताको लागि माओवादीले जित्न आवश्यक रहेको र एक नम्बर पार्टी बनाउने लक्ष्य रहेको सुनाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आएपछि हाम्रो प्रत्यक्ष निर्वाचित कार्यकारीमा आफूहरूको रिजर्भेसन रहेको भन्दै हर्क वा बालेन आए पनि फरक नपर्ने बताए । “मैले त लोकतन्त्रका फूल भनेको छु,” उनले भने ।

अब निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने बताए । इतिहासबाट जनताको चेतना धेरै अघि बढ्यो राजाले बोलेका कुरामा प्रतिक्रिया नदिएको र राजतन्त्र कुनै अवस्थामा फर्कन नसक्ने बताए ।

उनले भने, “माओवादी बढ्ने भयो भनेर नोकरशाहीलाई मन परेको छैन । पार्टी एक ठाउँमा छ । नेतृत्वमा विवाद छैन ।” यो सरकार ०८४ सम्म बसेपनि माओवादीलाई फरक नपर्ने सुनाए । सरकार बनाउन र ढाल्ने आफूहरू खेलमा नलाग्ने बताए ।

सुशील कोइरालालाई राष्ट्रपति र केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेपछि मात्र संविधान बनेको बताउँदै उनले आन्दोलनका सहयात्री दलको सहमतिमा मात्र बनाउन आफूले जोड गरेको बताए । उनले भने, “संविधानका धेरै विषयमा माओवादीका धेरै इन्डिकेसन छ । सबै परिवर्तन हाम्रो आन्दोलनको जगमा बनेको हो ।”