गठबन्धनलाई जिताए राजनीतिक, संवैधानिक आयोग र राजदूत नियुक्ति गर्ने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

गठबन्धनलाई जिताए राजनीतिक, संवैधानिक आयोग र राजदूत नियुक्ति गर्ने प्रचण्डको घोषणा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले चुनाव हारे सबैको हालत खराब हुने बताएका छन्।

शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा बोल्दै उनले गठबन्धनलाई जिताएर बहुमतको सरकार बनेमा अहिले टिकट नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताएका हुन्।

उनले भने ,‘म सबै साथीहरुलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ। अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकोले मन खुम्चिएका साथीहरुलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरु के के हुन्छन् के के। हारियो भने चाहिँ हामी सबैको हालत खराब।’

अहिले असन्तुष्ट बनेकाहरु चुनावपछि अवसर पाउँदा खुशी हुने प्रचण्डले बताए। उनले भने, ‘त्यसकारण अवसरै अवसर प्राप्त गर्ने, अहिले भाँचिएका अलिअलि थिचिएका, अलि अलि अध्यारो अनुहार भएका साथीहरु पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुन्छन्।’