अब बन्दैनन् प्रचण्ड प्रधानमन्त्री - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

अब बन्दैनन् प्रचण्ड प्रधानमन्त्री



काठमाडौं- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना दुईजना अध्यक्षहरूको नयाँ कार्य विभाजन गरेको जनाएको छ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

नयाँ निर्णय अनुसार पार्टीका एकजना अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारको काम मात्र हेर्नेछन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाहिँ पार्टीको सम्पूर्ण काम हेर्नेछन्।

यो निर्णयसँगै प्रचण्ड यो सरकारको कार्यकालभरि प्रधानमन्त्री नबन्ने देखिएको छ।

यसअघि पार्टी एकीकरण पूर्व नै दुईजना नेताहरूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताइने गरेको थियो।

कतिपयले दुई अध्यक्षहरूले व्यक्त गर्ने सार्वजनिक अभिव्यक्तिलाई लिएर उनीहरूबीच सोही सहमतिबारे मनमुटाव रहेको रूपमा पनि अर्थ्याउने गरेका थिए।

उक्त बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली र प्रचण्डको बरियता एउटै हुने जानकारी दिए।

उनले “बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुने तर आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने” बताए।

कार्यविभाजनका सम्बन्धमा नेकपाले गरेका निर्णयहरू:

केपी शर्मा ओली प्रधानमन्त्रीका रूपमा सरकारको काममा केन्द्रीत हुने र पुष्पकमल दाहाल कार्यकारी अधिकारसहित पार्टीका काममा केन्द्रीत हुने

दुवै अध्यक्षहरूको वरियताक्रम यथावत रहने।

तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्ने

प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र त्यसले राजनीतिक स्थायित्वको सन्देश दिने।

पार्टी र सरकार सञ्चालन दुई अध्यक्षबीचको आपसी सल्लाहमा गरिने। पार्टी सञ्चालनका क्रममा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।