अब प्रचण्डकै लाइनमा नेकपा : नेतृत्व सर्वसम्मत र वैचारिक विवाद अन्त्य - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

अब प्रचण्डकै लाइनमा नेकपा : नेतृत्व सर्वसम्मत र वैचारिक विवाद अन्त्य



काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीर देखिएको कार्यदिशा विवाद निस्कर्षमा पुगेको छ । यससंगै लामो समयदेखि नेकपाभित्र रडाको मच्चाएको जनताको जनवाद र जनताको बहुदलीय जनवादले औपचारिक बिश्राम लिने भएको हो।

नेकपाको राजनीतिक कार्यदिशामा अध्यक्षद्वय पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच के  हुने भन्नेमा विवाद थियो । यसले गति लिएपछि पार्टीको एउटा लाइन क्लियर भएको छ भने कार्यकर्तामा एकताको नयाँ उर्जा संचार हुने देखिएको छ ।

आइतबार बिहान बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा यसअघि नै सहमति भइसकेको दस्तावेज प्रतिवेदन नै प्रकाशनमा लैजाने समझदारी भएको पार्टी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका हुन् ।

खरीपाटीमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले भने, “तपाईंहरूलाई एउटा खुसीको कुरा सुनाउन सक्ने भएर आएको छु । आज बिहानमात्रै बालुवाटारमा प्रधानमन्त्री केपी ओली र मेरो बीचमा एकवर्षदेखि सम्पूर्ण रूपले प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । भोलि प्रकाशनमा जाँदैछ । पार्टी एकताका सन्दर्भमा ठूलो काम पूरा गरेका छौँ । किनकि, राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति, विधि, के हो कुनचाहिँ आधिकारिक हो ? कुनचाहिँ नेताले भनेको पार्टीको आधिकारिक लाइन हो ? कुन नेताले भनेको पार्टीको लाइन होइन भनेर कम्फ्युजनको अन्त्य भएको छ । भोलि प्रकाशन भएर आइसकेपछि कुनचाहिँ पार्टी रहेछ, कुनचाहिँ होइन रहेछ, मूल्याँकन गर्ने कसी दस्तावेज हुनेछ ।”

प्रचण्डको माग कार्यान्वयन गर्न ओलीले प्रधानमन्त्री या अध्यक्ष पद प्रचण्डका लागि छोडिदिनुपर्छ । त्यसो गर्न ओली तयार नभएको उनी निकट एक नेता दाबी गर्छन्।

प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेबारे ओलीलाई सम्झाउँदा ओलीले प्रतिउत्तरमा भनेका छन्‘ अहिलेको समयमा सरकार र पार्टीको नेतृत्व परिवर्तन गर्ने या मन्त्रीपरिषद् सदस्य परिवर्तन गर्ने विषय ठूलो होइन । देशको विकासका लागि कस्तो काम भइरहेको छ भन्नेबारे अध्ययन अनुसन्धान गर्ने हो । विकासको माग गर्ने हो।’

त्यसैले राजनीतिक दस्ताबेज प्रकाशनमा ओलीले लचिलो देखिएपनि सरकार र पार्टीको नेतृत्वको जिम्मेवारी दाहालाई सुम्पिने मनस्थिति नबनाएको पार्टीका अर्का प्रभावशाली नेताले बताए ।

माधव नेपालको संयोजकत्वमा गठित कार्यदल समितिले २०७४ चैत २० मै मस्यौदा गरेर २०७५ असार २ गते सचिवालय बैठकमा प्रतिवेदन बुझाएको भए पनि प्रकाशनमा आएको थिएन । समिति र सचिवालयबाट पारित मस्यौदामा राजनीतिक कार्यदिशा जनताको जनवाद तय गरिएको थियो । बीचमा पार्टी अध्यक्ष ओलीले तत्कालीन एमालेले अँगाल्दै आएको जनताको बहुदलीय जनवाद नै एकीकृत पार्टीको राजनीतिक कार्यदिशा हुनुपर्ने तर्क अघि सारेपछि पार्टीमा वैचारिक मतभेद बढेको थियो । आइतबार त्यसले निकास पाएको हो ।

आइतबार केपी ओलीसँग भेटेपछि प्रचण्ड निकै उत्साहित देखिएका छन् । उनले एकवर्षपछि हुने एकताको महाधिवेशनमा राजनीतिक विचार, नीति र नेतृत्व सर्वसम्मत रूपमा निर्णय गरिने र बहुमत र अल्पमतका आधारमा नगरिने स्पष्ट पारे । यसबारे शीर्ष नेताबीच पहिले नै सहमति भएर हस्ताक्षर भइसकेको बताए ।

गत वर्ष जेठ ३ गते पूर्व माओवादी र एमालेबीच जन्मिएको नेकपाको अझैपनि पोलिटव्युरो गठन भएको छैन। यस्तै केन्द्रिय सदस्यको कार्यविभाजन गर्न नेतृत्व असफल भइरहेको छ।

त्यसमा पनि ओली र उनको पक्षले आफु निकटलाई दोहोरो जिम्मेवारी दिने प्रयास गर्दा र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले त्यसमा विमति जनाएपछि उनीहरुको कार्यविभाजन ठप्प भएको हो।