प्रचण्डमाथि लेखनाथले गरे काउन्टर - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डमाथि लेखनाथले गरे काउन्टर



काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले प्रचण्डमा पनि ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको प्रतिवेदनमाथि दश बुँदे फरक मत राख्दै उनले प्रचण्डभित्र आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको धारणा राखेका हुन्।

माओवादी केन्द्रको बन्दसत्रको मञ्च अगाडि, महाधिवेशनस्थल प्रज्ञा भवन परिसर, महाधिवेशनको लोगोभित्र र सडकमा राखिएका व्यानरमा प्रचण्डको तस्बिर राखिएको छ। त्यसैगरी उद्घाटन कार्यक्रम चलिरहँदा महाधिवेशनको प्रचण्डको स्ट्याचु ल्याएर राखिएको थियो।

‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ। तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र।’उनले भनेका छन्,‘यसको एउटा उदाहरण तपाईले नेकपाकालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द २४ पटक दोहोरिएको छ, भने हामी भन्ने एक ठाउँमा मात्र।’

उनले महाधिवेशनस्थलमा आफैं उपस्थित हुँदा पनि प्रचण्डका तस्बिर राख्न कसले निर्देशन दिएको भन्दै प्रश्न उठाएका छन्। ‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको वा प्रवृत्ति देखिएको छ। तपाई आफैँ सशरीर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो।’न्यौपानेले भनेका छन्,‘कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा सहिदहरुको तस्बिर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’

उनले प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसद्वादी रुझानका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन्। उनले माओवादीले स्थानीय सरकार जितेको ठाउँमा एउटा नमूना पालिका सरकार देखाउन प्रचण्डलाई चुनौती नै दिएका छन्।

‘हाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन्। तिनीहरूले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा भन्दा फरक के काम गरे ? स्थानीय सरकार हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ ? यसको निर्मम समिक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले हामीलाई बदनाम मात्र बनाउँछ। ’ न्यौपानेले भनेका छन्,‘हाम्रो तर्फबाट मन्त्री भएकाहरूको कुरा छाडौं, मन्त्रीका अधिकांश पिएहरूको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ। यसलाई पुराका पुरा सच्याइएन भने सरकारमा गएर समाजवादको आधार निर्माण गर्ने कुरा काल्पनिक मात्र होइन, बदनामीको माध्यम हुनेछ।’

न्यौपानेले नेतृत्वमा आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, संगठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, भ्रष्ट काम गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता छरपस्टै देखापर्ने गरेको जनाएका छन्। उनले पार्टीमा अनावश्यक टुटफुट पार्ने, गुटबन्दी र षड्यन्त्र गर्ने कामको मूलमा नेतृत्वको सामन्ती र बुर्जुवा चिन्तनपद्धति र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहने गरेको दाबी गरेका छन्। पार्टीले यो प्रश्नलाई पूर्ण गम्भीरताकासाथ लिएर समाधानका उपायहरूको खोजी गर्नुपर्ने उनको बुझाई छ।