प्रचण्डलाई प्रधानमन्त्री बन्न काँग्रेसको अफर ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डलाई प्रधानमन्त्री बन्न काँग्रेसको अफर !



काठमाडौं ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको बैठकले तीनवटै पद नेकपा एमालेलाई दिएर पार्टी एकता हुन नसक्ने निष्कर्ष निकालेको छ ।

सरकार गठनभन्दा अघि नै पार्टी एकता नभए त्यसपछि एकता प्रक्रिया नै भाँडिन सक्ने आशंका पनि गरेको छ ।

नेकपा एमालेले पार्टी एकता भन्दा सरकार गठनलाई प्रार्थमिकता दिएको छ भने माओवादी केन्द्रको बैठकले सरकार गठनभन्दा पनि पार्टी एकतालाई बढी जोड दिएको छ ।

सोमबार बसेको बैठकमा चुनावी तालमेलका बेला भएको सहमतिअनुसार नै पार्टी एकताको सुनिश्चिततापछि सरकार गठनको प्रक्रियालाई अघि बढाउन जोड दिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन् ।

माओवादीले राष्ट्रियसभा गठनको विषय राजनीतिक भएको भन्दै राजनीतिक सहमतिबाटै टुङ्याउनुपर्नेमा पनि जोड दिएको छ । उसले कांग्रेससँग पनि छलफल गरेर टुंगोमा पुर्याउने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रको बैठकले पार्टी एकतापछि अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एमालेलाई नै र एकै व्यक्तिलाई दिन नसकिने निष्कर्ष निकालेको पनि माओवादी केन्द्रका अर्का एक नेताले बताए ।

“असोज १७ गतेको निर्णयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ताले मान्नुपर्छ । एमालेका साथीहरुले तीनवटै पद केपी शर्मा ओलीजीलाई दिनुपर्छ भनिरहनुभएको छ । त्यो ठीक होइन भन्ने बारेमा छलफल भएको छ,” माओवादी केन्द्रका नेता मणि थापाले भने, “दुईजना नेतामध्ये एकजना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुन्छ ।”

उनले असोज १७ गतेका सहमतिअनुसार नै अध्यक्ष र प्रधानमन्त्री पदको टुंगो लाग्ने जिकीर गरे ।

असोज १७ गते नै एमाले र माओवादीबीच साढे २ वर्ष ओली र साढे २ वर्ष प्रचण्ड प्रधानमन्त्री हुने अनौपचारिक सहमति भएको पनि थापाले बताए ।

अहिले नै पार्टी एकता र पदको बाँडफाँट नभए पछि दुवै पार्टीभित्र समस्या देखिन सक्ने उनको भनाई थियो ।

प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेसको अफर 

एमालेबाहेक पनि सरकार बन्न सक्ने संकेत गर्दै थापाले भने, “कांग्रेस, मधेसवादी दलहरुबाट हामीलाई प्रधानमन्त्रीको अफर आएको छ । कांग्रेसलगायत साना दलहरुबाट हामीलाई प्रधानमन्त्रीको अफर आएको छ । उनीहरुले एमालेलाई छोड्दिनुहोस्, हामी प्रचण्डलाई लेखेरै पाँचवर्षसम्म प्रधानमन्त्री बनाउने सहमति गर्छौं भनिराखेका छन् ।”

उनले जनताले दिएको जनमतलाई आफूहरुले अवमुल्यन नगर्ने जिकीर पनि गरे । उनले अगाडि थपे, “एमाले र माओवादी केन्द्र एक हुन भनेर नै जनताले हामीलाई यति धेरै मत दिएका हुन् । यदि पार्टी एकता नगर्ने चुनावी तालमेलको लागि मात्र भनेको भए यति धेरै सिट आउँदैनथ्यो होला ।”

हारको कारण पनि खोज्ने
बैठकमा एमाले र माओवादी केन्द्रबाट संयुक्त रुपमा उमेदवारी दिएका उमेदवारहरुको हारको कारणबारे पनि छलफल भएको थियो ।

गठबन्धनबाट साझा उमेदवारी दिएका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एमालेका उपाध्यक्ष वामदेव गौतमलगायत पराजित भएका नेताहरुको हारको कारण खोज्ने कुरा पनि उठेको थापाले बताए ।

बाह्रखरीको सहयोगमा