कांग्रेसकै समितिले प्रचण्डलाई अपराधी र आतंककारी बनायो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कांग्रेसकै समितिले प्रचण्डलाई अपराधी र आतंककारी बनायो



काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर पुगेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा लगाउन नेपाली कांग्रेस अमेरिका जनसम्पर्क मञ्चले एक समिति गठन गरेको छ ।

मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्दै उनको पत्नीको उपचार खर्च अमेरिकास्थित नेपाली दूतावासले व्यहोर्ने विषयमा पनि ध्यान आकर्षण भएको जनाउँदै नेपालीको कर र विप्रेषणको रकमको दुरुपयोग नगर्न चेतावनी दिएको छ । मञ्चले उक्त खर्चको पारदर्शीताका साथ हिसाबकिताब देखाउन माग पनि गरेको छ ।

‘वासिंङटन डिसी मेट्रो क्षेत्र (भर्जिनिया, डिसी र मेरिल्याण्ड)मा बसोवास गर्दै आइरहेका हाम्रो संयुक्त छलफलले हाल डिसी क्षेत्रमा रहेका प्रचण्डको सबैखाले सार्वजनिक कार्यक्रम बहिष्कार गर्ने र विगतमा उनको नेतृत्वमा भएको मानव अधिकार हनन् र हत्याबारे अमेरिका र अन्य अन्तर्राष्ट्रिय कानुनको ध्यानाकर्षण गराउन विरोध गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्ड सत्र हजार नेपालीको हत्याका जिम्मेवार कम्युनिष्ट पार्टी माओवादीका नाइके भएको भन्ने कडा शव्दमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘उनको नेतृत्वमा भएको मानव अधिकार हनन् र जघन्य प्रकृतिका घटनाहरूका कारण नेपालले दश वर्ष लामो हिंसा व्यहोरेको, निर्दोष नेपाली बालबालिकाहरू मारिए, हजारौं नेपाली अंगभंग भए र लाखौँ नेपाली विस्थापित भएका छन् । अध्यापनरत् शिक्षकहरूको अपहरण गरी पाशविक हत्या गर्ने, पत्रकार, व्यवसायी, कम्युनिष्ट विचारको समर्थन नगर्ने कांग्रेसजन तथा लोकतन्त्रवादीलाई समर्थन गर्ने र सर्वसाधारण नागरिकलाई समेत क्रुर रुपमा आक्रमण र हत्या गर्ने हत्यारा कम्युनिष्ट पार्टीका जिम्मेवार हुन् प्रचण्ड ।’

मञ्चले ‘सुरक्षाकर्मी, सरकारी कर्मचारीलाई क्रुर रुपमा हत्या गर्ने, बैंक लुटपाट र कब्जा गर्ने, सरकारी एवं सार्वजनिक संरचना ध्वस्त गर्नेलगायतका हिंसा र मानव अधिकारको जघन्य उल्लङ्घनकर्ता आतंककारी’को संज्ञा प्रचण्डलाई दिएको छ ।