प्रचण्डको कुटनीति सफल : वामदेव र माधव नेपाल सेट - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

प्रचण्डको कुटनीति सफल : वामदेव र माधव नेपाल सेट



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व यतिखेर शक्ति शंघर्षको युद्धमा छन् । कसलाई कसको लाइनमा ल्याउने हो भने बलियो बनिन्छ भन्ने दौडमा नेतृत्वपंति केन्द्रित छ ।

पछिल्ला दिनहरूमा कार्यक्रमहरू र बैठकमा दुई अध्यक्षको घाँटी जोडिएको जस्तो देखिएपनि त्यहाँ एउटा ‘दुखभरी’ कहानी नै छ । नेकपाको एकताको घोषणालगत्तै नेतृत्व र शक्तिसन्तुलन मिलाउन दुवै अधक्ष्यले सबैभन्दा बढी समय खर्चेका छन् ।

हाल पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख वामदेव गौतमलाई दिने करिब–करिब सहमति भएको जानकारी आएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले वामदेवलाई प्रमुख बनाउने पक्का भएपछी खुमलटारमा भने खुसीको संचार भएको छ ।

सुरुवातमा पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतमलाई नै संगठन विभागको प्रमुख बनाउने प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले भने गृहमन्त्री बादललाई प्रमुख बनाउने भनेर अगाडी सारेका थिए ।

पछी ३२ विभागको भागबन्डामा सङ्गठन विभाग तत्कालिन एमालेको कोटामा परेको थियो । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पूर्व एमालेका नेताहरुको बैठकले संगठन विभागको जिम्मेवारी नेता गौतमलाई दिन सहमत भएको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता गौतमलाई संगठन विभाग र विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता माधवकुमार नेपाललाई दिन सहमत भएका बताइएको छ ।

नेता नेपाल यसअघि पनि एमालेमा विदेश विभाग प्रमुख थिए । बैठकमा अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, नेता गौतम लगायतका नेता सहभागि थिए ।

यता प्रचण्ड खेमामा भने यो खबरले खुसियाली बढेको छ । सुरुवातमा प्रचण्डले नै वामदेवलाई संगठन विभाग प्रमुख बनाउने प्रस्ताव गर्दा ओली भड्किएका थिए । ओलीले प्रचण्डको लाइन छुटाएर आफ्नो कित्तामा ल्याएका बादललाई ओलीले सङ्गठन विभागको जिम्मा दिने निर्णय नै गरेपछि प्रचण्डले आफु सङ्कटमा परेको महसुस गरेका थिए ।

तर पछिल्ला लगातारको ‘वान टु वान’ बैठकमा प्रचण्डले एउटा प्रस्ताव गरे र ओली पनि सो प्रस्तावमा सहमत भए । प्रचण्डले गरेको प्रस्ताव यस्तो थियो ‘अध्यक्षद्वय, महासचिव र बहालवाला मन्त्रीलाई विभागीय जिम्मेवारी नदिने’ । यो प्रस्ताव पार्टीकोलागि र नेता व्यबस्थापनको लागि पनि उचित थियो । ओली सहमत भएपछी प्रचण्डले सङ्गठन विभाग प्रमुखको कोटा पनि पुर्वएमालेको कित्तामा हालिदिए ।

यसरी पुर्वएमाले नेताहरूको पछिल्लो बैठकले वामदेवलाई फेरी प्रस्ताव गरेपछि सङ्गठन विभागको जिम्मेवारी वामदेव गौतमलाई दिन ओली सहमत भएका छन् । र यो बिषयमा मोटामोटी सहमति भएको पनि स्रोतले जनाएको छ ।