गिरिजाले सदरमुकाम उडाउन र ठुला आक्रमण गर्न लगाएको प्रचण्डको खुलासा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

गिरिजाले सदरमुकाम उडाउन र ठुला आक्रमण गर्न लगाएको प्रचण्डको खुलासा



काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्‍यो भन्ने गरेको खुलासा गरेका छन् ।

२५ औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग आफ्नो दिनदिनै फोनमा कुरा हुने गरेको स्मरण गरे । यही विचित्रको परिस्थितिका कारण राजतन्त्र ढाल्न सफल भइएको उनले बताए ।

‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, ठूल्ठूला फौजी आक्रमण गर्नुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यही विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौँ’, प्रचण्डले भने ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक रहेको दाबी गरे । युद्धले ग्रसित धेरै मुलुकले शान्ति प्रक्रियामा आउन खोजे पनि उनीहरु सफल नभएको प्रचण्डको भनाई थियो ।

‘अर्को कुनै नेतृत्व हुन्थ्यो र अर्को कुनै विचार हुन्थ्यो भने शान्ति प्रक्रियामा आउन सम्भव थिएन, त्यो सजिलो कुरा थिएन’, प्रचण्डले भने ।

टाउकोको मूल्य तोकेकै कारण पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भएको बताउँदै उनले धेरैले शान्ति सम्झौता हुन्छ भनेर नसोचेको बताए ।

‘शान्ति सम्झौता होला भन्ने सोचेका थिएनन् धेरैले । शान्ति प्रक्रियामार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि हो’, प्रचण्डले भने ।