कर्णाली पुगेर पाँच जनाको जिम्मा लिएर फर्किए प्रचण्ड - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

कर्णाली पुगेर पाँच जनाको जिम्मा लिएर फर्किए प्रचण्ड



निर्वाचन लक्षित देश दौडाहामा निस्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका तीन जिल्लामा पाँच जनालाई मन्त्री बनाउने आश्वाशन दिएका छन्।

सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभामा टिकट वितरणको विषयलाई लिएर आन्तरिक विवादकै कारण बागी उम्मेरदवार भएका कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोट पुगेका प्रचण्डले मुख्यमन्त्री दोहोर्‍याउने आश्वासनसमेत दिए।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लाका मतदातालाई आकर्षित गर्न हिमाली जिल्ला पुगेका प्रचण्डले सत्ता गठबन्धनका तर्फबाट जुम्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदार जुम्लाका गोमा कुँवर, हम्लाका छिरिङ दम्डोल लामा (कार्चेन)लाई विजयी बनाए संघीय सरकारको क्याविनेट मन्त्री बनाउने सार्वजनिक प्रतिवद्धता जनाए।

त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको भाबी मुख्यमन्त्री र कालीकोटका हिक्मतबहादुर विष्टलाई कर्णाली प्रदेशको क्याविनेट मन्त्री बनाउने आश्वाशन दिए।

प्रदेश सदरमुकाम सुर्खेतबाट मंगलबार (आज) बिहान पौने ११ बजे एयर डाइनेष्टी हेलिकोप्टरबाट खलंगा विमानस्थलमा ओर्लेका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सत्ता गठबन्धनले चन्दननाथ नगरपालिका-५ सेराज्युलोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जुम्लाबाट प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेरदवार गोमा कुँवरलाई अब बन्ने सरकारमा क्याविनेट मन्त्री बनाउने बताए।

जुम्लाको चीरपरिचित नेतृको नाम गोमा कुँवर हो। यसअघि मेरै नेतृत्वको सरकारमा मन्त्रीको सफल जिम्मेवारी निर्वाह गरेकी नेतृ गोमालाई तपाईँ (जुम्लाका मतदाता)ले विजयी गराएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाउँछु,’ उनले भने।

गठबन्धनको तर्फबाट जुम्लाको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवर, प्रदेससभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका ललितजंग शाही र प्रदेशसभा निर्वाचन क्षेत्र २ मा एकीकृत समाजवादी पदम रोकाया चुनावी मैदानमा छन्।

जुम्लाबाट एक घण्टापछि हुम्लाको सर्केगाडमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका प्रचण्डले गैरसांसद रहेका प्रतिनिधसभा सदस्यका उम्मेरदवार छिरिङ दम्डोल लामा (कार्चेन)लाई कर्णाली प्रदेशकै मन्त्री बनाएर आफूले हुम्लालाई प्राथमिकता दिएको उल्लेख गरे। उनले मंसिर ४ गतेको निर्वाचनमा जिताएर पठाए नेपाल सरकारको क्याविनेट मन्त्री पक्का बनाउने प्रतिवद्धता व्यक्त गरे।

आफू नेतृत्वको सरकारमा क्याविनेट मन्त्री भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई उनले प्रशंसा गर्दै पुनः मुख्यमन्त्री बनाउने बताए।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लसहित कर्णाली दौडाहमा निस्केका प्रचण्डको अन्तिम संम्बोधन कालीकोटको मान्म बजारमा आयोजित चुनावी सभा थियो।

संक्षिप्त सम्बोधन गरेका उनले कालीकोटमा पनि दुई जनालाई मन्त्री बनाउने आश्वासन दिए। उनले प्रतिनिधिसभा उम्मेदवार महेन्द्रबहादुर शाही र प्रदेशसभामा हिक्मत विष्टलाई चुनाव जिताएर पठाए क्याविनेट मन्त्री बनाउने आश्वासन दिए।

‘महेन्द्रजी संघको क्याविनेट मन्त्री र प्रदेशको मुख्यमन्त्रीको सफल भूमिका निर्वाह गरिसक्नुभएको नेता हो। अब कालीकोटका मतदाताले जिताएर पठाए फेरि संघीय सरकारमा उचित भूमिकासहित क्याविनेटमा समावेश गर्ने जिम्मा हाम्रो भयो,’ उनले भने।

साझा उम्मेरदवारलाई इकमानदारिताका साथ विजय गराउन सार्वजनिक अपील गरेका प्रचण्डले प्रदेश निर्वाचन क्षेत्र २ का उम्मेरदवार हिक्मत विष्टलाई गठबन्धनले प्रदेश सरकारको मन्त्री बनाउने बचन दिए।

अबको बजेटमा कर्णालीलाई प्राथमिकता

मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारले निर्माण गर्ने बजेटमा कर्णालीले पहिलो प्राथमिकता पाउने प्रतिबद्धता प्रचण्डको थियो। नेपालका ७७ वटा जिल्लामध्ये राष्ट्रिय राजमार्गमा जोडिन हुम्ला सदरमुकाम सिमकोटमात्रै रहेको बताएका उनले अबको बजेटको प्राथमिकतामा कर्णाली रहने बताए।

हुम्ला, जुम्ला र कालीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अबको प्राथमिकता कर्णाली, सुदूरपश्चिमको सर्वपक्षिय विकास नै रहेको उल्लेख गर्दै यातायातको पहुँच, स्वास्थ्य, शिक्षा, विद्युतीकरण जस्ता विषयलाई प्राथमिकता दिने आफू बाहेक अरु कोही नभएको दाबी गरे।

‘कर्णालीले देशको राजनीतिक परिवर्तनदेखि सामाजिक सांस्कृतिक परिवर्तनमा बेग्लै पहिचान बनाएको छ,’ प्रचण्डले भने, ‘यहाँका वर्ग, जाति, लिंग र समुदायको हितका लागि अहिलेको गठबन्धन निकै संवेदनशिल छ।’

चुनावपछि बन्ने गठबन्धन सरकारले संविधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासलाई गति दिने दाबी उनले गरे। कर्णालीको विकास र समृद्धिका लागि कर्णाली करिडोर, फुकोट हाइड्रोलगायतका महत्वपूर्ण विकास आयोजनाहरुलाई अगाडि बढाउछौं।