भारत पुगेर प्रचण्डले भने: अब १९५० को सन्धि पुनरवलोकन गर्नुपर्छ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

भारत पुगेर प्रचण्डले भने: अब १९५० को सन्धि पुनरवलोकन गर्नुपर्छ



काठमाडौं- सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।

शनिबार नयाँ दिल्लीमा फाउन्डेसन फर पब्लिक अर्वानेस एन्ड पोलिसीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले कूटनीतिक संवादमार्फत दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरवलोकन गर्न ढिलाइ गर्न नहुने बताए ।

त्यस अवसरमा उनले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने पनि बताए । नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै उनले त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताए ।

उनले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे । नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पारे ।

सत्तारूढ भारतीय जनता पार्टीको नियन्त्रणमा अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका हुन् । भ्रमण क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेका छन् ।