प्रचण्डले कार्यकर्तालाई भने- हर्क साम्पाङ जस्तै बन्नुस - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रचण्डले कार्यकर्तालाई भने- हर्क साम्पाङ जस्तै बन्नुस



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङबाट प्रेरणा लिन आग्रह गरेका छन् ।

धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

मेयर साम्पाङको निम्तोमा धरान पुगेका प्रचण्ड वृक्षारोपणमा सहभागी भए । वृक्षारोपण कार्यक्रममा श्रमदान गर्दै प्रचण्डले साम्पाङ धरानका लागि अवसर भएको टिप्पणी गरे ।

माओवादीले गर्ने कार्य साम्पाङले गरेको भन्दै प्रशंसा गरेका प्रचण्डले देशभरका सबै श्रमजीवी जनतालाई पनि साम्पाङबाट प्रेरणा लिन आग्रह गरे ।

आफू र आफ्नो पार्टीको साथ र समर्थन रहेको साम्पाङलाई जानकारी गराउँदै प्रचण्डले जनताको साथ र समर्थन पाइराख्न आग्रह पनि गरे । मेयर साम्पाङको आह्वानमा हरेक शुक्रबार वृक्षारोपण कार्यक्रम हुँदै आएको छ ।