प्रचण्ड गोरखाबाट चुनाव लड्ने, पार्टीले गर्‍यो उम्मेदवार सिफारिस - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रचण्ड गोरखाबाट चुनाव लड्ने, पार्टीले गर्‍यो उम्मेदवार सिफारिस



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस भएका छन् ।

प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका बेला उनी गोरखाबाट सिफारिस भएका हुन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए।

माओवादी केन्द्र गोरखाले भने अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ।

यीबाहेक इच्छुक अन्य नेता, कार्यकर्ताका नामसमेत समावेश गरी केन्द्रमा उम्मेदवार सिफारिस गरिने माओवादी नेताले बताएका छन् ।

गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन्।

२०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए। त्यसबेला नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले चुनाव जितेका थिए।

बाबुरामले मंसिर ४ मा हुने चुनावमा हँसिया हतौडाबाट चुनाव उठ्ने तयारी गरेका छन्। बाबुरामले गोरखा २ बाट उठ्ने बताइरहेका छन्।

माओवादी गोरखाका नेताहरूले भने बाबुराम गोरखा २ मा उठ्नभन्दा पनि सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी देशका अन्य क्षेत्रमा चुनाव उठ्नुपर्ने बताएका छन्।