बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पित गर्ने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पित गर्ने प्रचण्डको घोषणा



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन्।

उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताए।

उनले भने, ‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो। कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीहरूको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ। यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो।’

कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको उनको भनाइ छ। कृषिपछि जलविद्युत्, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए।

‘५०/६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ। हामी सबै चिज निर्यात गर्नसक्ने अवस्थामा थियौँ। अहिले उल्टो भयो किन यस्तो भइराखेको छ हाम्रो चिन्ताको विषय भयो’ उनले भने, ‘हामी धेरै पढ्यौँ, लेख्यौँ। धेरै जान्ने सुन्ने पनि भयौँ। तर देशको आर्थिक विकासको स्थितिबाट हेर्दा त्यो अगाडि होइन पछाडि गएको देखिनु ठूलो चुनौती हो।’

उनले युवाहरू उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने बताए। धन, सम्पति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरूको आत्मसम्मान हुनेगरी सम्पती आर्जन गर्न युवाहरुलाई आग्रह गरे।

उनले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने प्रतिबद्धता समेत जनाए।