गठबन्धन बनाउन बढी योगदान गरेको माओवादीलाई गठबन्धनबाटै धोका - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

गठबन्धन बनाउन बढी योगदान गरेको माओवादीलाई गठबन्धनबाटै धोका



काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई गठबन्धनकै कारण ठूलो धक्का लाग्ने देखिएको छ । प्रारम्भिक परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुबैतिर माओवादीको अवस्था रक्षात्मक देखिएको छ ।

एमालेसंगको पार्टी एकता भङ्ग भएपछि नयाँ गठबन्धन बनाउन र संसद पुनर्स्थापना गराउन महत्वपूर्ण भूमिका खेलेको माओवादी अहिले राम्रै परिणाम ल्याउने आंकलनमा थियो । गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको नेकपा माओवादीलाई सुरुवातमै झड्का लागेको छ ।

सबैभन्दा बढी गठबन्धनको फाइदा नेपाली कांग्रेसलाई भएको देखिन्छ तर, माओवादी र नेकपा एकीकृत समाजवादीलाई गठबन्धन निकै महँगो परेको छ। माओवादीका ४५ उम्मेदवार मध्य करिव एक दर्जनले मात्र अग्रता लिएका छन्।

अन्य ३३ जना नेताहरूले ल्याएको प्रारम्भिक परिणामले अवस्था चिन्ताजनक बनेको छ। प्रतिनिधिसभामा कांग्रेससँग मिलेर उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले अपेक्षाकृत नतिजा ल्याउन नसक्ने देखिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट अग्रता लिए पनि चितवन ३ बाट माओवादी उम्मेदवार डा. भोजराज अधिकारीले पछाडी धकेलिएका छन् । अर्थमन्त्री समेत रहेका जनार्दन शर्माको क्षेत्रमा राम्रै परिणाम आउने देखिए पनि महासचिव देव गुरुङको प्रारम्भिक नतिजा राम्रो छैन ।

प्रचण्डसँगै जाजरकोटबाट शक्ति बस्नेत, महोत्तरी–१ मा गिरीराजमणि पोखरेल, मोरङ–४ मा अमनलाल मोदी, सिन्धुली–२ मा लेखनाथ दाहाल, रोल्पामा वर्षमान पुन, बाग्लुङ–२ मा देवेन्द्र पौडेल, दाङ–२ मा रेखा शर्मा, खोटाङमा रामकुमार राई, भोजपुरमा सुदन किराती, सर्लाही–१ मा महिन्द्र राय यादव र रुकुमु पश्चिममा पूर्णबहादुर घर्तीमगरले अग्रता लिएका छन्।

यी नेताहरूको मत राम्रै देखिएपनि माओवादीमा ठूलो योगदान गरेका ललितपुर–३ की उम्मेदवार पम्फा भुसाल, काठमाडौं २ मा ओनसरी घर्ती, लमजुङमा महासचिव देव गुरुङ, धनुषा–१ मा मात्रीका यादव, झापा–२ मा हरिकुमार राना, ताप्लेजुङमा खेलप्रसाद बुढाथोकीले अग्रता लिन सकेका छैनन्।

मोरङ–५ मा शिवकुमार मण्डल, सुनसरी–१ मा मुक्साहाङ मेन्याङबो, बारा–२ मा शिवचन्द्र कुशवाह, रौतहट–३ मा रविन्द्र पटेल, सर्लाही–३ मा नरेन्द्र प्रसाद कलबार पनि पछाडि छन्। यस्तै सिरहा–३ मा विश्वनाथ साह, काठमाडौं–२ मा ओनसरी घर्ती, काठमाडौं–३ मा बद्री बजगाई, काठमाडौं–७ मा मानुषी यमी भट्टराई, काठमाडौं–९ मा कल्पना धमला, काठमाडौं–१० मा अञ्जना बिसंखे पछाडि छन्।

माओवादीमा प्रभाव राख्ने भनिएका काभ्रे–१ मा सूर्यमान दोङ, चितवन–३ मा भोजराज अधिकारी, दोलखामा गंगा कार्की, नुवाकोटमा हितबहादुर तामाङको नतिजा पनि चिन्ताजनक देखिएको छ।

यता, भक्तपुर–१ मा सुनील गोठे, सिन्धुपाल्चोक–१ मा माधव सापकोटा, कास्की–३ मा रामजीप्रसाद दाहाल, कपिलबस्तु–१ मा चक्रपाणि खनाल, बर्दिया–२ मा सुरेश पन्त, बाँके–१ मा महेश्वर गहतराज, कालीकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवरले अग्रता लिन सकेनन्।

माओवादीको प्रभाव क्षेत्र मानिएका र परिणाम ल्याउने नेता मानिएका हुम्लामा छिरिङ लामा, कञ्चनपुरमा प्रचण्डकी बुहारी बिना मगर, कैलाली–२ मा भगतबहादुर बडुवाल र कैलाली–३ मा कृष्णबहादुर चौधरीको प्रारम्भिक नतिजाले संकटको संकेत गरेको छ ।