प्रचण्डको नयाँ सर्त- 'स्थानीय निर्वाचनपछि मलाई प्रधानमन्त्री चाहिन्छ' - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रचण्डको नयाँ सर्त- ‘स्थानीय निर्वाचनपछि मलाई प्रधानमन्त्री चाहिन्छ’



स्थानीय तहको निर्वाचन र अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेको खुलासा भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारनिकट स्रोतले हिमालपोस्टलाई बताएअनुसार प्रचण्डले स्थानीय निर्वाचनपछि आफू प्रधानमन्त्री बनेदेखि एमसीसी पास गर्न सघाउने वाचा गरेका थिए ।

‘स्थानीय चुनावको मिति तोकिएको र एमसीसीलाई संसदमा टेबुल गर्न लागेको विषयलाई लिएर प्रचण्डले राजनीति गर्न खोज्नुभयो,’ बालुवाटार उच्च स्रोतले हिमालपोस्टसँग भन्यो, ‘आफू प्रधानमन्त्री भए एमसीसीपास गर्न सहयोग गर्ने प्रचण्डको प्रस्ताव थियो । प्रधानमन्त्री देउवाले त्यसलाई स्वीकार गर्नुभएको छैन ।’

स्थानीय निर्वाचनपछि हुने संघीय चुनाव आफूले गराउन पाउनुपर्ने भन्दै केही दिनअघि बालुवाटारमा भएको छलफलमा प्रचण्डले शर्त तेर्स्याएका थिए । त्यही विषयलाई लिएर देउवा-प्रचण्डबीच नोकझोँक समेत भएको स्रोतको दाबी छ ।

यसबारे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसमेत जानकार छन् । उनले एमसीसी पास गर्नैपर्ने भएदेखि देउवाको होइन प्रचण्डकै नेतृत्वमा बनेको सरकारले गरे राम्रो हुने सुझाव प्रचण्डलाई दिएको चर्चा चलेको छ ।

प्रचण्डनिवास खुमलटार स्रोतले भने प्रधानमन्त्री हुनुपर्ने माग प्रचण्डको नरहेको दाबी गरेको छ । ‘सत्ता गठबन्धनलाई तोड्ने हिसाबले यस्ता प्रचार भएका हुन्,’ सचिवालयका एक सदस्यले भने, ‘एमसीसी संशोधनबिना पास हुन सक्दैन भनेर लिएको अडानलाई कमजोर पार्ने गरी यस्तो कुरा बाहिर ल्याइएको हो ।’

केही दिनअघि एमसीसी मुख्यालयलाई लेखिएको एक पत्र सार्वजनिक भएको थियो । एमसीसी पास गर्ने प्रतिबद्धता व्यक्त गरिएको उक्त पत्रमा देउवा र प्रचण्डको संयुक्त हस्ताक्षर थियो । उक्त पत्र बालुवाटारबाटै सार्वजनिक भएको भन्दै केही सञ्चारमाध्यमहरूले समाचार लेखिसकेका छन् ।

प्रचण्डले प्रधानमन्त्री मागेपछि रुष्ट भएका देउवाले पत्र सार्वजनिक गर्न लगाएको हुन सक्ने आंकलन राजनीतिक वृत्तमा गरिएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने कसैले गरेको छैन ।