प्रचण्डले 'डबल गेम' खेलेपछि भाँडियो भैसकेको सहमति - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रचण्डले ‘डबल गेम’ खेलेपछि भाँडियो भैसकेको सहमति



काठमाडौं- सत्तारुढ गठबन्धनको बिहीबार बसेको ११ घण्टा लामो बैठकमा भैसकेको सहमति भाँडिएको छ ।

नेताहरूबीच भैसकेको सहमति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डबल गेमका कारण भाँडिएको बताइएको छ ।

एक नेताका अनुसार प्रचण्डले डबल गेम खेलेर ल्याएको प्रस्तावका कारण नेपाली कांग्रेस पछि हच्किन बाध्य भएको हो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ९० सिट आसपास कांग्रेसलाई राखेर सहमति खोज्न भनेपछि ल्गभग सहमति भैसकेको थियो । तर माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई ८० सिट आसपास सीमित गर्ने र आफ्नो पार्टीलाई धेरै सिट दिलाउने गेम खेलेपछि कांग्रेस हच्किएको हो।

बैठकमा सहभागी कांग्रेसका एकजना नेताका अनुसार प्रचण्डले प्रतिनिधिसभाका १६५ सिटमध्ये ५० प्रतिशत कांग्रेसलाई दिने गरी प्रस्ताव गरेका थिए। प्रचण्डले कांग्रेसलाई ५० प्रतिशत सिट दिएर बाँकी ५० प्रतिशत आफूहरु भागबण्डा गर्ने भनेपछि सबै कुरा बिग्रेको उनको दाबी छ ।

‘ती कांग्रेस नेताले भने,’उहाँको प्रस्ताव अनुसार कांग्रेसले ८० देखि ८२ सिटमा चित्त बुझाउनुपर्ने देखियो। तर हामी यति तल झरेर सहमति गर्ने पक्षमा छैनौँ।’ प्रचण्डको उक्त प्रस्तावलाई गठबन्धनका एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि मान्ने अवस्था नरहेको ती नेताले बताए।

बैठकमा प्रचण्ड कांग्रेसलाई ५० प्रतिशत दिएपछि बाँकी रहेको ५० प्रतिशतबाट आफूले कम्तीमा ५० सिट राख्ने रणनीतिसहित प्रस्तुत भएका स्रोतले जनाएको छ।

प्रचन्डको नियत आफूले प्रतिनिधिसभाको ५० सिट राख्ने देखियो’, बैठकमा सहभागी कांग्रेस ती शीर्ष नेताले भने, ‘यो प्रस्तावमा अन्य दल पनि सहमत हुन तयार छैनन्। कांग्रेस सहमत हुने कुरै भएन।’

बिहीबार दिनभरको छलफलपछि कांग्रेस ८६, माओवादी केन्द्र ४७, नेकपा एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिट लिनेमा सहमति भएको थियो। तर, प्रचण्डले आफू ५० सिटबाट तल नझर्ने गरी प्रस्ताव ल्याएपछि समस्या बल्झिएको बताइएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटलाई लिएर केही सातादेखि सत्तारुढ दलबीच रस्साकस्सी चलिरहेको छ।

यसअघि कांग्रेसले सुरुमा एक सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटमा दाबी गरेका थिए। तर कांग्रेस लचक भएर ९० मुनि झर्न तयार भए पनि सहमति नबनेको हो।