प्रचण्डले प्रधानमन्त्री मागेपछि नेताहरू 'सरप्राइज'- गठबन्धनको भविष्य अँध्यारोतर्फ - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

प्रचण्डले प्रधानमन्त्री मागेपछि नेताहरू ‘सरप्राइज’- गठबन्धनको भविष्य अँध्यारोतर्फ



काठमाडौं- सत्ता गठबन्धनमा सिट बाँडफाँटको किचलो भैरहेका बेला ‘प्रधानमन्त्री पद’ बार्गेनिङको ‘इन्ट्री’ भएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न महाभारत भैरहेका बेला अर्को चुनौतीपूर्ण विषयले ‘इन्ट्री’ गरेपछि झन् सकस भएको छ ।

एकातिर सिट बाँडफाँटलाई लिएर नेपाली कांग्रेसमा तनावको अवस्था सिर्जना भएको छ भने अर्कातिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनपछि आफुलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

कांग्रेसको संस्थापन इतर समूहले सय सिट भन्दा काममा सम्झौता गरेको खण्डमा विद्रोह गर्ने चेतावनी दिएको छ । अर्कातिर प्रधानमन्त्री पद नछाड्नको लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिट संख्यामा लचिलो बन्दै गएका छन् । यस्तो परिस्थितिमा प्रचण्डले निर्वाचनपछि आफुलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेका हुन् ।

प्रचण्डले सत्ता गठबन्धनको बैठकमा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेपछि बैठक नै अनिर्णित बनेको स्रोतले बताएको छ। सिट बाँडफाट नै निकै पेचिलो बन्दै गइरहेका बेला प्रचण्डले अहिले नै प्रधानमनत्री पदमा छिनोफानो गरेर जानुपर्ने र आफुलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने अडान राखेपछि गठबन्धनको भविष्य नै धरापमा परेको आंकलन गरिएको छ ।

यसैलाई संकेत गर्दै मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको कुरा थप पेचिलो बन्दै गएकाले सहमति हुने या नहुनेमा आशंका ब्यक्त गरेका छन् ।

निर्वाचन आयोगले चुनाव घोषणा गरेलगत्तै गठबन्धनका शीर्ष नेताहरु लगातार भागबण्डा मिलाउन जुटिरहेका छन् । तर, लामो समयसम्म पनि यो विषय टुंगो लाग्न सकेको छैन ।

शीर्ष नेताहरुले क्षेत्रअनुसार सिट बाँडफाँडमा सहमति जुटाएर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको थियो । उक्त कार्यदलले समेत सहमतिमा प्रतिवेदन दिन सकेको छैन् । यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव लगायत गठबन्धनका शीर्ष नेताहरु नै निरन्तर छलफलमा छन् ।

गठबन्धन गरेर केहि सिटमा कम्प्रोमाइज गएर भएपनि फेरि प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवा प्रचण्डको प्रस्तावले सरप्राइज भएका छन् । एकातिर पार्टीमा मिलाउन तनाव अर्कातिर प्रधानमन्त्री पद पनि चाहिने भएपछि देउवा तनावमा परेको बताइन्छ ।

प्रचण्डको प्रस्तावमा सबैभन्दा ठूलो असहमति प्रधानमन्त्री देउवाकै हुने र कांग्रेसका अन्य नेताले पनि प्रचण्डको प्रस्ताव नमान्ने पक्का छ । चुनावपछिको प्रधानमन्त्रीको रुपमा आफूलाई अघि सारेर जानुपर्ने दाहालको प्रस्तावले अन्य नेताहरू पनि सरप्राइज भएको बताइएको छ ।

प्रचण्डको यस्तो प्रस्तावले गठबन्धनकै भविष्य संकटमा परेको नेताहरूले बताउन थालेका छन् ।