चितवनमा प्रचण्डलाई धक्का, चुनावी परिणाम नै उलटफेर हुनसक्ने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चितवनमा प्रचण्डलाई धक्का, चुनावी परिणाम नै उलटफेर हुनसक्ने



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै चुनावी क्षेत्रमा ठूलो धक्का लागेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज यमबहादुर परियार एमालेमा प्रवेश गरेपछि चुनावी परिणाम नै उलटपुलट हुने देखिएको छ।

यमबहादुर परियार चितवन माओवादीका प्रभावशाली नेता मानिन्छन । उनले गत स्थानीय तहको निर्वाचनमा पनि ठूलो भूमिका खेलेका थिए । बिहिबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा उनलाई एमालेमा स्वागत गरे।

च्यासलमा भएको कार्यक्रममा उनले चितवन, काठमाडौं र ललितपुरका करिब दुईदर्जन कार्यकर्तालाई खादा लगाई स्वागत गरेका थिए । परियार माओवादीका राम्रै कमान्डर मानिन्छन ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले सबै देशभक्त, वामपन्थीहरूको एमालेमा समाहित हुनु जरूरी रहेको बताउँदै नवप्रवेशीहरूलाई कुनै भेदभावविना योग्यता, क्षमता र कार्य दक्षताका आधारमा जिम्मेवारी दिइने बताए।

सो कार्यक्रममा नवप्रवेशी माओवादी केन्द्रका केन्द्रीय सदस्य परियारले एमाले नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताए। चुनावको मुखमा चितवनको जिल्ला सह इन्चार्जले नै पार्टी छाडेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको छ।

प्रचण्ड मंसिर ४ गते हुने निर्वाचनमा चितवन ३ बाट उठ्ने तयारी गरिरहेका छन्।