कम्युनिष्ट सरकार बनाउन एमालेसँग लगातार छलफलमा छन् प्रचण्ड - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

कम्युनिष्ट सरकार बनाउन एमालेसँग लगातार छलफलमा छन् प्रचण्ड



काठमाडौं- आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । अगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरु भइसकेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार गठनबारे छलफल भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान नेम्वाङ खुमलटार पुगेका थिए ।

सत्ता गठबन्धनका दलबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्रीलगायत प्रमुख पद बागबन्डा विषयमा सहमति जुट्न नसकिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डसँग भेटघाट गर्नुलाई अर्थपूर्ण हेरिएको छ । भेटका क्रममा दुई नेताबीच सरकार गठनको विषयमा नै कुराकानी भएको बताइएको छ ।

एमाले र माओवादी दुवै पार्टी स्रोतले प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिएर अगाडि बढ्ने प्रस्तावमा छलफल जारी छ । स्रोतका अनुसार प्रचण्ड र नेम्वाङबीचसमेत यही विषयमा छलफल भएको छ । ‘माओवादीले प्रधानमन्त्री, एमालेले राष्ट्रपति लिएर अरू महत्वपूर्ण पदमा समेत भागबन्डा गरेर सहमतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो । वाम गठबन्धन गरेर जाँदा नै कम्युनिस्टलाई जोगाउन सकिन्छ,’ एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव छ ।

सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । सत्ता गठबन्धनमा सरकार गठनको विषयमा कुनै निष्कर्ष ननिस्किरहेको अवस्थामा एमाले भने गठबन्धनको समीकरण फेर्ने रणनीतिमा छ । यसअघि केही दिन अगाडि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

यस्तै, एमाले नेताहरू विष्णु पौडेल, रघुवीर महासेठ, महेश बस्नेतलगायतले माओवादी अध्यक्ष प्रचण्डसँग भेटका थिए । नेम्वाङले माओवादीलाई प्रधानमन्त्री दिएर एमालेलाई राष्ट्रपति दिनेगरी नयाँ शक्ति बाँडफाँटमा जोड दिँदै आएका छन् ।

नेपाल र प्रचण्डबीच भेटघाट
यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आगामी सरकार गठन’bout छलफल भएको छ । नेपाल निवास कोटेश्वरमा दुई अध्यक्षबीच भेटघाट भएको हो । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि शीर्ष नेता आन्तरिक छलफल एवं भेटघाटलाई तीव्रता दिएका छन् ।

सोमबार बिहान चितवन पुगेका प्रचण्ड दिउँसो फर्केपछि विमानस्थलबाट सिधै कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका थिए । प्रचण्ड र नेपालबीच एक घण्टाभन्दा बढी समय कुराकानी भएको जनाइएको छ । उनीहरूबीच नयाँ सरकार गठनलगायतका विषयमा कुरा भएको बताइएको छ ।

आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सातदिने म्याद दिएर दललाई संविधानको ७६ (२) अनुसार नयाँ प्रधानमन्त्री सिफारिस गर्न समय दिइसकेकी छन् । राष्ट्रपतिको आह्वानलगत्तै आइतबार साँझ प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

सोमबार बिहान चितवन पुगेका प्रचण्डले आफू प्रधानमन्त्री पदकै लागि जे पनि नगर्ने र सत्ता गठबन्धनभित्रै प्याकेजमा सहमतिको प्रयास भइरहेको बताएका थिए ।

प्रधानमन्त्री बन्ने दौडमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वतन्त्र सांसदलाई सरकारमा सहभागिताका लागि फकाउँदै छन् । सत्तारूढ गठबन्धन सरकार गठनको आन्तरिक तयारीमा रहेकैबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वतन्त्र सांसद प्रभु साहसँग भेटघाट गरेका छन् । देशैभरिबाट प्रतिनिधिसभामा पाँच जना स्वतन्त्र सांसद विजयी भएका छन् ।

साह समूहबाटै विजयी सांसद किरण साहका साथै सोही समूहसँग नजिक रहेका अर्का स्वतन्त्र सांसद अमरेश सिंहसमेत अहिले एकै ठाउँमा उभिएपछि प्रचण्डले उनीहरूलाई अब गठन हुने सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

संघीय सरकार गठनका लागि सत्तारूढ र प्रतिपक्षी दुवै गठबन्धनलाई बहुमत पुगिरहेको छैन । सोही कारण स्वतन्त्र सांसद समेतको सरकार गठनका लागि महत्वपूर्ण भूमिका हुने देखिन्छ । प्रचण्डले यसअघि जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं निवर्तमान सांसद रेशम चौधरीसँग समेत भेटेका थिए ।

डिल्लीबजार जेलमा रहेका चौधरीलाई प्रचण्डका साथै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समेत जेलमै पुगेर सरकार गठनमा सहयोग गर्न आग्रह गरिसकेका छन् । चौधरीलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताले समेत भेटघाट गरेका छन् ।

कांग्रेस र माओवादीबीच आलोपालो सरकार गठनको आन्तरिक सहमति भए पनि पहिलो चरणमा प्रधानमन्त्री कुन दलले लिने भन्नेमा टक्कर रहेको छ । सोही कारण दबाब बढाउने उद्देश्यले प्रचण्डले नियमित शीर्ष नेतालाई भेटघाट गर्दै सरकार गठनबारे छलफल थालेका हुन् । प्रचण्डले भए कांग्रेससहितको गठबन्धनबाटै नभए एमालेसँग नयाँ गठबन्धन गरेर सरकारको नेतृत्व गर्न आतुर रहेको जनाइएको छ ।