राष्ट्रपतिलाई प्रचण्डको चेतावनी: त्यो प्रमाणीकरण नगरे राम्रो हुन्न - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राष्ट्रपतिलाई प्रचण्डको चेतावनी: त्यो प्रमाणीकरण नगरे राम्रो हुन्न



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् । उनले संसद्‌बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे राम्रो नहुने भन्दै चेतावनी दिएका हुन् ।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्‍वास व्यक्त गर्दै उनले यदि फिर्ता गरे सरकारले फेरि पठाउने र त्यसबेला राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने दाबी गरे।

जापानको पाँच दिने भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले मंगलबार त्यहाँ रहेका पत्रकारसँग कुरा गर्दै भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गर्नुहुन्‍न।’

उनले अगाडी थपे,‘फिर्ता गर्नुहुन्‍न। गरिहाले सरकारले अगाडि बढाएपछि रोक्ने कुरा हुँदैन,’ प्रचण्डले भने, ‘त्यसले राम्रो हुँदैन फेरि जान्छ र हस्ताक्षर गर्नैपर्छ।’

प्रचण्डले नागरिकता विधेयकले लाखौं नेपालीलाई नागरिकता लिन सहज भएको बताएका छन्। जापानमा रहेका नेपाल पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले थपे, ‘त्यो नागरिकता विधेयकले लाखौं नागरिकका जसका आमाबाबु नेपाली नागरिक छन्, तर उनीहरुका उमेर पुगेका छोराछोरीले नागरिकता प्राप्त नगर्दा धेरै सुविधाबाट बञ्चित हुनुपरेको स्थिति सम्बोधन गर्न नागकिता सम्बन्धी विधेयक अगाडि ल्याइएको हो। मुख्यरुपमा तराई मधेसका जनताका छोराछोरीको समस्या प्रबल रहेको छ।’

उनले अगाडी भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिजीले फिर्ता गर्नुहुन्छ भन्ने विश्वास म गर्नै चाहन्‍नँ। उहाँले गर्नुपनि हुन्‍न। गरिनै हाल्नुभयो भने एक पटकलाई मात्र हुन्छ। सरकारले फेरि त्यसलाई अगाडि बढाइसकेपछि रोक्ने ठाउँ नै हुँदैन। हुन त हिजो आज त्यहाँ कसरी छलफल भइराखेको छ, सबै त मैले बुझ्न पाएको छैन, मेरो बुझाइमा राष्ट्रपतिजीले फिर्ता पनि पठाउनुहुन्‍न। फिर्ता गर्नुभयो भनेपनि त्यसले राम्रो हुँदैन। फेरि जान्छ र त्यसलाई हस्ताक्षर गर्नैपर्ने हुन्छ।’

नागरिकता समस्या समाधान गर्न सरकारले गरेको पहललाई राष्ट्रपतिले फिर्ता नगर्ने उनको विश्‍वास थियो । यदि राष्ट्रपतिले प्रमाणीकरण नगरेको खण्डमा राम्रो नहुने उनको चेतावनी थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा नागरिकता विधेयक ऐन प्रमाणित गरी राष्ट्रपति समक्ष पठाएका थिए। तर, राष्ट्रपतिबाट अहिलेसम्म त्यसलाई प्रमाणीकरण गर्न बाँकी छ।