बैठकमा प्रचण्डको ब्रिफिङ- तत्काल कांग्रेसलाई छोड्न सकिन्न, एकता संयोजन समिति बनाएर जाउँ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

बैठकमा प्रचण्डको ब्रिफिङ- तत्काल कांग्रेसलाई छोड्न सकिन्न, एकता संयोजन समिति बनाएर जाउँ



काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठक शुक्रबार बिहान फेरि बस्नेगरी आजको लागि सकिएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग तालमेल वा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेसको विकल्प तत्काल खोज्न नसकिने बताएका छन्।

बिहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्ड तत्कालिन राजनीतिक परिस्थितिबारे बोलेका थिए । अध्यक्ष प्रचण्डले कांग्रेससँगै चुनावी सहकार्य हुने र त्यसबाट दायाँ बायाँ सोच्न नसकिने बताए ।

त्यतिमात्र होइन प्रचण्डले कांग्रेससँगै गठबन्धनमा रहेर एमालेबाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउँन सकिने र वामपन्थीहरूको उपकेन्द्र बन्नसक्ने बताएका थिए ।

प्रचण्डले वामपन्थी दलहरुबीच समाजवादी केन्द्र बनाएर अगाडि बढेपछि आगामी निर्वाचनमा कांग्रेससँगै गठबन्धन कायम गर्ने स्पष्ट पारे। स्थायी समिति सदस्य हरिबोल गजुरेलले बैठकमा गठबन्धन भित्रकै वामपन्थी दलहरुबीच पार्टी एकता संयोजन समिति बनाएर अगाडि बढ्न सकिने विषयलाई अध्यक्षले जानकारी गराएको बताए।

प्रचण्डको भनाई उद्दृत गर्दै उनले भने, ‘अहिलेको गठबन्धनलाई कायम राख्नुपर्छ, माधव नेपाल जीहरुसँगपनि सहकार्य गरेर जानुपर्छ, वाम गठबन्धन कायम गर्ने भन्नुभएको छ। वामपन्थी दलहरुबीच पार्टी एकता संयोजन समिति बनाएर अगाडि बढ्न सकिने ब्रिफिङ गर्नु भएको छ। ’

उनले बैठकमा पदाधिकारी चयनको एजेण्डा नराखिएको समेत बताए। उनले भने, ‘अहिले पदाधिकारी चयनबारे एजेण्डा राखिएको छैन, पोलिटब्युरो समिति र स्थायी समितिलाई पूर्णता दिनेबारे भोलिको बैठकमा छलफल हुन्छ, पदाधिकारीको विषय त्यसपछि मात्र छलफल हुन्छ।’

गजुरेलले भने, ‘अध्यक्ष ज्यूले आज बैठकमा समसामयिक विषयमा रिपोर्टिङ गर्नुभयो। सुझाव राख्ने काम भयो, शुक्रबार बिहान ८ बजे पुन :बस्ने बैठकमा थप छलफल हुन्छ।’