विप्लवलाई माओवादीमा ल्याउने तयारी छ: प्रचण्ड - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

विप्लवलाई माओवादीमा ल्याउने तयारी छ: प्रचण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई माओवादीमा ल्याउने तयारी गरिरहेको बताएका छन् । प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा प्रवेश गराउन तयारी र प्रतिक्षा गरिरहेको बताएका छन्।

शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताएका हुन्।

‘म छिट्टै अरू साथीहरूलाई, छिट्टै विप्लवजीहरूलाई पनि यहाँ हात मिलाउने, अंकमाल गर्ने दिनको प्रतीक्षामा छु,’ प्रचण्डले भने।

विप्लव जनयुद्धकालका प्रचण्डका सहयात्री हुन्। अहिले उनी नेपाल कम्युनिस्ट पार्टीका महासचिव छन्।

विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता/कार्यकर्तालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना सहयात्रीहरू मोहन वैद्य किरण, विप्लवलगायत नेतृत्वका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्ने अभियानमा आफू रहेको बताए।