प्रचण्डलाई अफ्ठ्यारोमा पार्न खोजिए प्रतिवाद गर्न तयार छौँ- विप्लव - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

प्रचण्डलाई अफ्ठ्यारोमा पार्न खोजिए प्रतिवाद गर्न तयार छौँ- विप्लव



काठमाडौं- मुलुकको आमूल परिवर्तन गर्ने क्रान्तिका रुपमा स्थापित ‘जनयुद्ध’ र त्यसमा संलग्न नेता तथा कार्यकर्तालाई आपराधिकरण गर्न खोजिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ।

आज काठमाडौंमा आयोजित संयुक्त मोर्चा घोषणा समारोहलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनयुद्धका नेतृत्वकर्ताको हैसियतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मुद्दा लगाउनु खोज्नु जनयुद्ध कै अपमान भएको बताए।

जनयुद्धलाई अपराधीकरण गर्ने र उपलब्धीलाई खारेज गर्ने लक्ष्यका साथ प्रधानमन्त्रीलाई मुद्दा लगाउने प्रयास गरिएको महासचिव चन्दको भनाइ छ। क्रान्तिको नेतृत्व गरेको नेतालाई व्यक्तिगतरुपमा मुद्दा लगाएर क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्ति मौलाएको भन्दै महासचिव चन्दले त्यस्ता मुद्दालाई अस्वीकार गर्ने बताए।

उनले भने, ‘यो परिवर्तनमाथिको आक्रमण हो। प्राप्त भएका सीमित उपलब्धि माथिको आक्रमण हो’, महासचिव चन्दले भने, ‘जुन क्रान्तिका कारण परिवर्तन भयो त्यसलाई अस्वीकार गर्ने, आक्रमण गर्ने र अपराधीकरण गर्ने प्रयास गरिएको छ। यो प्रचण्डको व्यक्तिगत मामिला हुँदै होइन।’

जनताको अधिकारलाई खोस्ने र समाप्त पार्ने ध्येयका साथ जनविरोधी शक्ति प्रतिक्रान्तिमा उत्रिएकाले आफूहरुले प्रतिवाद गर्नुपरेको महासचिव चन्दको भनाइ छ। महासचिव चन्दले क्रमशः माओवादी विचार बोक्ने शक्ति क्रमशः एकै ठाउँमा आउने र त्यसका लागि सम्वाद भइरहेको बताए।

कार्यक्रममा चन्द नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल र नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकीले समाजवादी देशभक्त मोर्चाको घोषणा गरे। मोर्चाले त्यसको स्वरुप, कार्यक्रम तथा वैज्ञानिक समाजवादसम्बन्धी अवधारणासमेत सार्वजनिक गरेको छ।