प्रचण्डले भने: बम पड्काउने आतंककारीलाई तत्काल पक्राउ गर - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रचण्डले भने: बम पड्काउने आतंककारीलाई तत्काल पक्राउ गर



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आतंककारी समूहले गोकुल बास्कोटाको घरमा बम विष्फोट गराएको भन्दै घटनाको निन्दा गरेका छन् ।

बुधवार बिहान प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् ।

पूर्व सञ्चार तथा प्रविधिमन्त्री बाँस्कोटाको मध्यपुर नगरपालिका वडा नम्बर १, लोकन्थली भक्तपुरस्थित निर्माणाधिन घरमा बुधवार बिहान बम विष्फोट भएको थियो ।

घटनास्थलमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले घटना आफूले गराएको स्वीकारसहितको पत्र भेटिएको प्रहरीले बताएको छ ।

प्रचण्डले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समुहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु ।’

प्रचण्डले घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानूनी कारबाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।