लिम्पियाधुरा र भारतबारे प्रचण्डले गरे गम्भीर खुलासा
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा र भारतबारे गम्भीर खुलासा गरेका छन् । पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन् ।
बैठकमा बोल्दै प्रचण्डले नेपाली भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको विषयमा सरकारले कूटनीतिक टिप्पणी पठाएर अनेक प्रयास गर्दा पनि सरकारको कुरामा भारतले वास्ता नै नगरेको बताएका छन् ।
प्रचण्डले अनेक कोशिस गर्दा पनि भारतले बेवास्ता गरेको, सरकारको कुरा नै नसुनेको गुनासो समेत गरेका थिए ।
बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले महाकालीको मुहान लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको दाबीसहित भारत सरकारलाई जानकारी गराए पनि रेस्पोन्स नगरेको ब्रिफिङ गरेका हुन् ।
“नेपाल–भारत सीमा समस्याबारे हामीले पटकपटक ध्यानाकर्षण गराएका छौं । भारतको भ्रमणमा गएका बेला पनि यस विषयमा जानकारी गराएका छौं । पहलै नगरेको भने होइन । पुरानै समस्या भएकाले भारतले खासै चासो देखाएको छैन । तै पनि हामीसँग यथेष्ट प्रमाण छन् ।
त्यतिबेला जनगणना गर्ने हाकिमहरू पनि जीवितै भएकाले हाम्रो दाबी पुग्छ । त्यतिबेला तिरो तिरेको रसिद प्रमाण पनि हामीसँग सुरक्षित छन् । अर्को, यस विषयमा राष्ट्रिय सहमति जुटेको छ ।
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सबै सहभागी भएर तत्काल कूटनीतिक पहल थाल्न सुझाव दिए,” प्रचण्डले बैठकमा भनेको कुरा एक सांसदले उद्धृत गरे ।
उनले नेपाल–भारतबीच धेरै ठाउँमा सीमा समस्या भए पनि कालापानी र सुस्ता अलि बढी दुख्ने गरेको बताउँदै सरकारले कूटनीतिक प्रयासबाटै समस्या समाधान गर्ने भन्दै सदस्यहरूलाई आश्वस्त पारेका थिए ।
“सम्झौता भएर दिएको भूमि पनि होइन । हामीले दाबी छाड्नुपर्ने कारण छैन । भारतले प्रकाशित गरेको नक्सा नवीन र नयाँ पनि होइन,” उनले बैठकमा थप जवाफ दिए ।
“हाम्रो गरेको प्रयास जारी रहनुपर्छ । इतिहासको विषयमा तथ्यपरक ढङ्गले अध्ययन गर्ने र सोही अनुसार जनताहरूलाई बुझाउने विषयमा ध्यान दिनुपर्छ,” प्रचण्डले बैठकमा जानकारी गराए ।
उनले पार्टीको एकता प्रक्रिया आधारभूत रूपमा टुंगिएको बताउँदै अब सरकारको, संसद्को कामकारबाहीको प्रभावकारिता वृद्धि हुने विश्वास पनि व्यक्त गरेका थिए ।
“पार्टी एकताको प्रकृयालाई टुंग्याएका छौं । आगामी दिनमा अझ यसलाई व्यवस्थित गर्नपर्छ । आज हामी जुन अवस्थामा छौं त्यो एकता प्रकृयाको कारणले सम्भव भइरहेको छ । उपनिर्वाचनमा पनि हामीले विगतभन्दा धेरै सिट संख्या जितेका छौं ।
भक्तपुर, धरान हाम्रो हातबाट गयो । यसले राम्रो संकेत गरेको छैन । यसअघि जितेका ८ वटा ठाउँमा हार्यौं । हारेका ११ सिटमा जितेका छौं । समग्र उपचुनावको विश्लेषण गर्दा आत्तिने अवस्था त छैन । तर, गम्भीर हुनुपर्ने विषयमा सचेत गराएको छ,” उनले बैठकमा उपचुनावको समीक्षा पनि गरे ।