गठबन्धनको बैठक बिचमै छोडेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

गठबन्धनको बैठक बिचमै छोडेर ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड



काठमाडौं- सत्ता गठबन्धनको बैठक बिचमै छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बालुवाटारबाट बाहिरिएका प्रचण्ड एकाएक बालकोट हानिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट एकाएक निस्किएर बालकोट पुगेका छन् ।

माओवादीका एक नेताका अनुसार प्रचण्डले बालकोट जानसक्ने संकेत बिहान माओवादी नेताहरूसंगको बैठकमा बताएका थिए । लगातारको बैठकपछि बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ लागेका छन् ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् ।