प्रचण्डका प्रियपात्र दिपकविरुद्ध पक्राउपुर्जी, नवलपरासीमा हल्लिखल्ली - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रचण्डका प्रियपात्र दिपकविरुद्ध पक्राउपुर्जी, नवलपरासीमा हल्लिखल्ली



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्त निकट मानिने बैजुप्रसाद गुप्ता (दिपक)विरुद्ध अदालतले पक्राउपुर्जी जारी गरेको छ ।

बैजुप्रसाद गुप्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष हुन् । गुप्ता हालै भएको स्थानीय निर्वाचनमा दोस्रोपटक पालिका अध्यक्ष बनेका हुन् ।

उनले व्यापारिक प्रतिशोधमा प्रहरी प्रयोग गरी दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको पुष्टि भएको छ ।

आफैले हालेको मुद्दामा अनुसन्धानको क्रममा उनकै योजनामा दुई भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएपछि उनी आफैँ यो मुद्दामा प्रतिवादी बन्ने भएका छन् ।

सो घटनामा पक्राउ परेका उनका सहयोगी रघुनाथ धोबीको बयान र अन्य परिस्थितिजन्य प्रमाणका आधारमा उनको संलग्नता पुष्टि भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरी गुप्तालाई पनि मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीका एक अधिकारीले बताए ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो ।

उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो ।

छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दाेष देखिएका छन् । यद्यपि, दुई महिनादेखि उनीहरू प्रहरी हिरासतमा छन् । प्रहरीले उनीहरूलाई संलग्नता नदेखिएको गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

सरकारी वकिल कार्यालयले यही साता गाउँपालिका अध्यक्षसहितलाई अदालतमा मुद्दा दायरको तयारी गरेको छ ।

लागुऔषध कारोबार भइरहेको छ भनी सूचना दिने धोबी पक्राउ परेपछि दुस्मनीका कारण उनीहरूलाई नियोजित रूपमा पक्राउ गर्न लगाइएको बयान दिएका छन् । पूर्वप्रहरी रहेका धोबी गाउँपालिकाका अध्यक्षको सहयोगीको रूपमा काम गर्दै आएका व्यक्ति हुन् ।

उनी पक्राउ परेलगत्तै छानबिनका क्रममा निर्दाेष देखिएपछि उनीहरूलाई छाड्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा सिफारिस गरेको थियो । सरकारी वकिल कार्यालयले बरामदी मुचुल्का नसच्याएसम्म त्यत्तिकै छाड्न नमिल्ने अडान लिएको थियो ।

अनुसन्धान अधिकृत रहेका इन्स्पेक्टर धर्म खत्रीले आफूले केही गल्ती नगर्दा पनि फसाउन लागिएको भन्दै मुचुल्का सच्याउन नमानेपछि मुद्दा प्रक्रियाबाटै छाड्न लागिएको हो ।

पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलले खटाएका सादा पोसाकका प्रहरीले सो समूहसँग मिलेर दुईजना भारतीयलाई योजनाबद्ध रूपमा फसाएका थिए ।

प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा सो कुरा पुष्टि भइसकेको छ । अभियोजन प्रक्रिया टुंगिएपछि यो घटनामा दोषी प्रहरीमाथि कारबाही हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी नलप्रसाद उपाध्याय बताउँछन् ।

नेपालमै कवाडीको व्यापार गर्दै रामा गुप्ताको विगतमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँग व्यावसायिक साझेदारी थियो ।

दुवै मिलेर एक मोटरसाइकल कम्पनीको कवाडी सामानको ठूलो ठेक्का हात पारेका थिए । त्यो ठेक्काको २० प्रतिशत आम्दानी रामालाई दिने सहमति भएको थियो जुन करिब डेढ करोड रुपैयाँ हुन्थ्यो । तर, गुप्ताले राजनीतिक शक्तिका आधारमा त्यो पैसा नदिएपछि उनीहरूबीच सम्बन्ध बिग्रिएको बताइन्छ।

गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नबलपरासीमा हल्लिखल्ली मच्चिएको छ । प्रचण्डको अत्यन्त नजिक भएकाले उनलाई बचाइने स्थानीय बताउँछन्