प्रचण्डको प्रश्न : ओलीले कुन नैतिकताले जनताको अगाडि बहुमत माग्ने? - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

प्रचण्डको प्रश्न : ओलीले कुन नैतिकताले जनताको अगाडि बहुमत माग्ने?



काठमाडौं- दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको आमसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो चोटी प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन्।

आफूले सदनमा ओलीलाई भनेको प्रसंग स्मरण गर्दै उनले पहिलोपटक संविधान जारी गर्नका लागि ओलीलाई प्रधानमन्त्री बनाएको बताए। ‘अब प्रधानमन्त्री बनाएर देखाउनुस्। अनि मानौंला। मैले रोस्ट्रमबाट भनेको थिएँ- तेस्रो चोटी प्रधानमन्त्री बनेर देखाउनुस्। त्यो सम्भव छैन’, प्रचण्डले भने।

उनले ओलीले बहुमत चाहियो भन्दा आफूलाई लाज लाग्ने बताए। ‘दुई तिहाइको हुँदाखाँदाको सरकार विघटन गर्ने, दुई तिहाइको बहुमतको सरकार विघटन गर्ने, त्यत्रो विशाल पार्टीलाई विभिन्न सेटिङ मिलाएर विभाजन गरेर टुक्राटुक्रा पार्ने केपी ओली कुन नैतिकताले अब जनताको अगाडि बहुमत माग्ने?’, उनले भने।

प्रचण्डको भनाइ छ, ‘केपी ओलीका लागि फेरि केका लागि बहुमत चाहियो? संविधान च्यात्न पुगेन भनेर? संसद्लाई पटक–पटक विघटन गरेर नेपाली जनताको अपमान गर्न बहुमत चाहियो उहाँलाई? अब बचेखुचेको कम्युनिस्ट आन्दोलनलाई पनि धराशायी बनाउन र ध्वस्त पार्न बहुमत चाहिएको हो? होइन भने दुई तिहाइ त दिएका थिए त नेपाली जनताले।’