प्रचण्डले आफ्ना सांसदलाई भने – मैले दबाब थेग्न सकिन, तपाईंहरू आफ्नो हिसाबले विरोध गर्नुस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकट नेताहरूलाई अमेरिकी सहायता परियोजना संसदमा टेबल गर्नबाट आफूले रोक्न नसकेकोमा ग्लानी भएको बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठक बस्नुभन्दा अघि देव गुरुङलगायत अन्य नेताहरूलाई आफ्नो तर्फबाट विरोध जारी राख्नसमेत आग्रह गरेका छन् ।
‘तपाईंहरूलाई के भनूँ, ठूलो दबाब आयो । मैले थेग्न सकिन, ग्लानी महसूस गरिरहेको छु,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले हिमालपोस्टलाई भन्यो, ‘आज संसदमा टेबल हुँदैछ । तपाईंहरूले संसदमा आफ्नो तर्फबाट सकेको विरोध गर्नुहोस् ।’
प्रचण्डले संसदबाहिर पनि आन्दोलन भइरहेकोसमेत स्मरण गराए । ‘संसदमा टेबल गर्ने काम सरकारको हो,’ प्रचण्डले भने, ‘हामी हाम्रो निर्णयमा कायमै रहनुपर्छ । संसदमा टेबल भएको एमसीसीलाई अब फेल गराउने प्रयास हाम्रो रहनेछ ।’
त्यसअघि सभामुख अग्निप्रसाद सापकोटासँग प्रचण्डको भेट भएको थियो । दुवैबीच एमसीसीलाई टेबल गर्न दिने सहमतिसमेत भएको थियो । प्रचण्डको आग्रहपछि सभामुख सापकोटा एमसीसीलाई टेबल गर्न दिनेप्रति नरम बनेका थिए ।
प्रतिनिधि सभा बैठक बसेपछि माओवादी केन्द्रका तर्फबाट देव गुरुङले एमसीसीको विरोध गरेका थिए । उनले भने, ‘एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि छैन, यसैले एमसीसी संसदमा टेबल गर्नुहुन्न ।’
गुरुङसँगै राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल, एमालेका भीम रावलले यसको विरोध गरेका थिए ।
संसदमा एमालेले भने अवरोध कायमै राख्ने प्रयास गरेको थियो । यता एमसीसीबारे बहस हुँदै गर्दा उता एमालेका सांसदहरूले ‘गैर-सांसदलाई प्रवेश रोक’ जस्ता नारा लगाएका थिए ।
संसदमा कांग्रेसबाहेकका सत्ता गठबन्धनका दलका सांसदहरूले एमसीसी विरोधी नारासमेत लगाएका थिए । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसमेतले एमसीसी चाहिँदैन भन्दै नाराबाजीमा उत्रेका थिए ।
एमालेको अवरोध र सत्तापक्षीय सांसदहरूकै विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबुल गर्न निर्देशन दिए ।
कार्कीले एमसीसीले देशलाई हुने फाइदाहरूका बारेमा बताउँदै एमसीसी टेबुल गरे । एमसीसी टेबुल भएलगत्तै प्रतिनिधि सभाको बैठक आगामी बिहीवारसम्मका लागि स्थगित भएको छ ।