प्रचण्ड र देउवा सँगै : प्र.म.ओलीविरुद्ध सहकार्य गर्ने - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्रचण्ड र देउवा सँगै : प्र.म.ओलीविरुद्ध सहकार्य गर्ने



काठमाडौँ –

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको गुप्त तयारीविरुद्ध एकजुट भएर अघि बढ्ने सहमति भएको बुझिएको छ । आफूलाई चुनौती हुनसक्ने ठानेर दाहाल र देउवाविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर कदम चाल्न लागेको थाहा पाएपछि उनीहरूले सहकार्य गर्ने सहमति गरेको थाहा भएको छ ।

प्रधानमन्त्री केपी ओलीको वर्तमान अवस्था बारिहबाट हेर्दा असाध्यै बलियो तर भित्री पाटोबाट हेर्दा उँधो न उँभको को देखिन्छ। पर्याप्त जनसमर्थन भएको हुनाले ओली बलियो देखिएका हुन् । तर भित्री रूपमा ओलीको सातोपुत्लो उडेको बुझ्न गाह्रो छैन किनभने उनी आतङ्कित देखिन्छन् । ओली निरीह  बनेका अर्का अध्यक्ष पुष्पकमल दाहालको सत्तारोहणको छटपटीले नै हो, अन्य प्रमुख कारण देखिँदैन ।

ओलीलाई विगतका राजा महेन्द्र जत्ति नै शक्तिशाली भनी तुलना पनि कतिपयले गरेका हुन्। तर शक्ति मापन गर्ने कुनै ठोस स्केल त हुँदैन। ओली इतिहासकै लोकप्रिय प्रधानमन्त्री पनि थिए तर अब भने दृश्य बदलिएको छ । उनी पहिलो पटक प्रधानमन्त्री हुँदाको लोकप्रियताको सीमा नै थिएन । सबैले वाहवाही गरेकै हुन्। केही गर्छन् यिनले भनेर आस पनि गरेकै हुन्। तर अहिले भने उनको लोकप्रियता अकल्पनीय रूपले ओरालो लागेको छ। अहिलेको ओरालो यात्राको परिणाममा एउटा नाम मुख्य छ – ‘प्रचण्ड’ । ओलीको पदीय चुरीफुरी सबै अहिले प्रचण्डको हातमा छ।

माओवादी केन्द्रका पूर्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रकाण्ड राजनीतिक खेलाडी भएकोमा शङ्का छैन । राजनीतिको व्यापारमा प्रचण्डले आजसम्म कहिल्यै पनि घाटा बेहोरेको देखिएको छैन।  जस्तै जोखिम लिएर पनि राजनीतिक फाइदा लिइरहेका छन् । यसैले उनले हैसियत बनाएका पनि हुन्।

केपी ओली मात्रले पूर्व एमालेको प्रतिनिधित्व गर्दैनन्।  अरु पनि छन्, ओलीले जे भन्यो त्यही हुने अवस्था छैन पूर्व एमालेमा । तर, पूर्व माओवादी केन्द्रको अवस्था फरक छ । प्रचण्ड भनेकै पूर्व माओवादी र पूर्व माओवादी भनेकै प्रचण्ड हुन् । अहिले दुई जना अध्यक्षबीच  यही शक्तिको लडाइँ देखिन्छ सत्ता आलोपालोको बहसमा ।

प्रधानमन्त्री ओली यतिबेला पार्टीभित्रका प्रतिपक्षी जस्ता देखिएका दाहाल र संसद्‍मा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई एकै पटक सन्तुलनमा ल्याउने रणनीति बनाउन व्यस्त रहेको बुझिएको छ । यी दुई नेतालाई मैत्रीपूर्ण तवरले भन्दा पनि अन्य बाटोबाट ठेगान लाउने तयारीमा प्रधानमन्त्री ओेलीले रहेको जानकार सूत्रले जनाएको छ ।

प्र.म. ओलीको यस्तो ‘पहल’ थाहा पाएका दाहाल र देउवा भने एकै ठाउँ जुट्न थालेका छन् । सरकारका तर्फबाट द्वन्दकालीन मुद्दा ब्यूँझाएर दुवै जनालाई कानुनी झमेलामा अल्झाउने कुटिल षडयन्त्र गरिन लागेको सुँइको पाएपछि दाहाल र देउवा गत बिहीबार ललितपुरको समीट होटलमा छलफल गर्न बसेका थिए ।

सरकारले जस्केलाबाट द्वन्द्वकालीन मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न खोजिरहेको उनीहरूको बुझाई छ। तत्कालीन माओवादीद्वारा सञ्चालित सशस्त्र द्वन्द्वमा बाल सैनिक लेनिन बिष्टले नेदरल्याण्डको हेग पुगेर माओवादीनेतृत्वमा रहेका नेताविरुद्ध उजुरी दिनुमा सरकारकै सहयोग रहेको सूचना दाहाल र देउवाका कानमा परेको समाचार सूत्रले बताएको छ । तत्कालीन एमालेनिकटका केही कानुन व्यवसायी र एमालेनिकट रही काम गरिरहेका केही गैरसरकारी संस्था (गैसस)ले बिष्टलाई सहयोग गरेको थापा पाए पछि दाहाल र देउवा ओलीसँग झस्किएका छन्।

ओली सरकारको व्यवहारबाट तर्सिएका दाहाल र देउवाले शान्तिप्रक्रिया अझै नटुङ्गिएको निष्कर्ष निकाल्दै ठोस कदम चालेर अघि बढ्ने सहमति गरेको बुझिएको छ । द्वन्द्वकालीन मुद्दालाई निष्कर्षमा नपुऱ्याउँदा मूलधारमा आइसकेका नेतालाई समस्या आएको भन्दै नेताद्वयले यसमा गम्भीरताका साथ काम गर्नुपर्ने कुरा महसुस गरेको बताइएको छ ।

दुई नेताबीच शान्तिप्रक्रिया निष्कर्षमा नपुग्दा पर्ने अप्ठ्याराबारे छलफल केन्द्रित भएको दाहाल निकट सूत्रले बतायो । शान्तिप्रक्रियाका मुख्य दुई पक्षको नेतृत्व गिरिजाप्रसाद कोइराला र आफूले लिएकाले टुङ्गोमा पुऱ्याउन आफूलाई साथदिन देउवासँग आग्रह गर्दै दाहालले कोइरालाको निधनपछि देउवाको काँधमा जिम्मेवारी आएकाले मिलेर जान छलफल गरेका थिए । त्यसै क्रममा देउवाले मिलेर जान आफूले वातावरण बनाउँदा पनि किन धोका दिएको भनी दाहालसँग प्रश्न गरेका थिए । आफूलाई धोका दिँदा दाहालले पश्चात्ताप गर्नुपर्ने समय आउन लागेको भन्दै देउवाले गुनासो पनि गरेको सूत्रले बताएको छ ।

( फाइल फोटो)