अब ५० वर्ष देश चलाउने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अब ५० वर्ष देश चलाउने प्रचण्डको घोषणा



काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ५० वर्ष आफूहरूले देश चलाउने घोषणा गरेका छन् ।

झापाको विर्तामोडमा आज आयोजित गौरीशङ्कर खड्का स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका हुन् ।

नेपालमा कम्युनिष्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिष्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रचण्डले भने “आम जनताले पाँच वर्ष मात्र नभएर अबको पचासौँ वर्षसम्म कम्युनिष्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।”

जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिष्ट पार्टीबाट र सङ्घीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको जनाउँदै अध्यक्ष प्रचण्डले भने, “आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।”