निर्णायक छलफल गर्न प्रचण्ड आजै काठमाडौं फर्कने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

निर्णायक छलफल गर्न प्रचण्ड आजै काठमाडौं फर्कने



काठमाडौं- 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठनका विषयमा निर्णायक छलफल गर्ने तयारी गरेका छन्।

नयाँ सत्ता समीकरण बनाउन दलीय छलफल तीव्र बनेपछि प्रचण्ड आजै चितवनबाट काठमाडौं आउँदैछन्।

राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशमा सहमति जुटाउन गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक सकेर उनी गृह जिल्ला चितवन गएका थिए।

चितवन पुगेलगत्तै प्रचण्डले सरकारको नेतृत्व आलोपालो गर्ने एमालेसँग सहमति भएको प्रतिक्रिया दिएका थिए। चितवनकै अर्को कार्यक्रममा उनले नयाँ सरकार गठन गर्न एमालेले संघीय समाजवादी फोरमसँग असफल प्रयास गरेको टिप्पणी समेत गर्न भ्याए।

पार्टी एकता, नयाँ सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा दलबीच आन्तरिक छलफल पेचिलो बनेको समय प्रचण्ड भने चितवनका विभिन्न औपचारिक कार्यक्रममा उपस्थित भएर दिन कटाइरहेका थिए। सो क्रममा उनले राष्ट्रियसभामा प्रतिपक्ष कांग्रेसको समेत आवश्यकता रहने भन्दै राजनीतिक सहमतिमा जोड दिएका थिए।