चितवनवासीले हराए हाँसेर स्वीकार्छु : प्रचण्ड - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चितवनवासीले हराए हाँसेर स्वीकार्छु : प्रचण्ड



 चितवन –

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि वाम एकता गरेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रचण्ड जिताउ अभियानको उद्घाटन गर्दै उनले राजनीतिक स्थिरताका लागि वामपन्थीको सरकार हुनु जरुरी रहेको औँल्याए । अहिलेको निर्वाचनले त्यो योजना पूरा हुने भन्दै अध्यक्ष दाहालले त्यसपछि विकासले गति लिने जिकिर गरे ।

आफूले चितवनमा ठूलो संघर्ष गरेको उल्लेख गर्दै उनले चितवनका जनताले आफूलाई जिताएरै छाड्ने दाबी गरे । जनताले हराएमा स्वीकार गर्न तयार रहेको दाहालको भनाइ थियो । चितवनको विकासलाई प्राथमिकता दिँदै नमूना जिल्ला बनाउने योजना आफूसँग रहेको समेत उनले बताए ।

उनले सो क्रममा चितवनको विकाससँगै देशकै नेतृत्व गर्ने लक्ष्यसहित चितवनमा आएको समेत बताए ।  चितवनमा पछिल्लो समयमा चुनावी कार्यक्रम तीव्र हुन थालेका छन् । दाहालको प्रतिस्पर्धीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे छन् । लोकतान्त्रिक गठबन्धनबाट उनी  चुनावी मैदानमा छन् ।

‘स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिन्छ। हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं’ प्रचण्डले भने, ‘हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजान चाहन्छौं।’  चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने अठोटका साथ अगाडि आएको उनले बताए ।