एमालेको एकता हुनैलाग्दा प्रचण्ड–नेपाल भेट - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमालेको एकता हुनैलाग्दा प्रचण्ड–नेपाल भेट



काठमाडौं- लामो समयको अन्तरालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न उनका निवासमा पुगेका छन् । एमाले विवाद निरूपण कार्यदलको बैठक सिंहदरबारमा बसिरहेका बेला नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए।

सर्वोच्च अदालतको फैसला र एमालेको एकता हुनैलाग्दा दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण मान्न सकिन्छ । हुनत सोमबार देउवा, प्रचण्ड र नेपाल भेट्ने ता थियो तर माओवादी नेता महादेव यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलबार प्रचण्ड जनकपुर गएका कारण त्यो भेट सम्भव भएन ।

श्रद्धाञ्जली सभाबाट फर्केपछि सीधै नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुका साथै विपक्षी दलहरूले मोर्चा बनाएका छन् । माधव नेपाल समुहलाई प्रधानमन्त्री ओलीले विपक्षीको समर्थनमा गरेको हस्ताक्षर फिर्ता लिन दवाव दिँदै आएका छन् ।

सर्वोच्च अदालतमा बहस सकिने दिन नै निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरेपछि तीन नेताबीच छलफल कार्यक्रम राखिएको थियो तर नेपाल सहभागी नभएपछि दाहाल पनि देउवा निवासमा आधाघण्टा मात्रै बसेर फर्केका थिए। दाहाल र नेपालबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। एमाले विवाद मिलेमा गठबन्धनको भविष्य के हुने भन्नेबारेमा पनि उनीहरूबीच छलफल भएको स्रोतको दाबी छ।