किन तर्सिन थाले पुष्पकमल दाहाल ?
काठमाडौं- जनयुद्धका सहयात्रीहरूलाई ढोका दिएको आरोप लागिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डर लाग्न थालेको छ । उनले सार्वजनिक रूपमै आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । एकपछि अर्को गर्दै सहयात्री नेताहरूले छोडेर हिँडेपछि प्रचण्डलाई यस्तो डर लाग्न थालेको हो ।
कैयौँ वर्ष साथ दिएका नेताहररू अहिले प्रचण्डलाई छोडेर लाखापाखा लागिसकेका छन् । लाखापाखा लागेका नेताहरूसँग प्रचण्ड परिवारवादमा फसेकोदेखि आफूहरूलाई धोका दिएको लगायत दर्जनौँ गुनासा छन् । केहि नेताहरूले त सार्वजनिक रूपमै प्रचण्डको खरो आलोचना गर्ने गरेका छन् । जनयुद्धका एक से एक योद्धाहरू कति आफ्नै पार्टी खोलेर निस्किए कति अन्य पार्टीमा लागेका छन् ।
शान्ति प्रक्रियामा आएको केहि समयमै प्रचण्ड विलाशी भएको र सर्वहारा जनताका मुद्दा छाडेको आरोप लगाउँदै आफ्नै राजनीतिक गुरुहरूले साथ छोडेका थिए । प्रचण्डका गुरू मानिने मोहन बैद्य उनीसंग छुट्टिएर नयाँ पार्टी खोलेका थिए । त्यसएता उनका अति निकट मानिने नेताहरूले लगातार छोडिरहेका छन् । जनयुद्धताकाका निकट सहयात्रीमध्यका केहि नेता बाहेक धेरैजसो प्रभावशाली नेताहरूले उनलाई छोडिसकेका छन् ।
पछिल्लो समय अध्यक्ष प्रचण्डले आफू एक्लो बन्दै गएकोप्रति तनाव लिन थालेका छन् । उनले आफू डराउन थालेकोबारे आइतबार राजधानीको एक कार्यक्रममा बताएका थिए । उनले एक्लो बनेकोमा चिन्ता मात्रै गरेनन् डर लाग्न थालेको समेत संकेत गरे । उनले यस्तै प्रकारले नेताहरूले छोड्दै जानेहो भने १/२ वर्षमै एक्लिने संकेत समेत गरे ।
उनले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्त पेश गर्दै आफूलाई पनि कहिलेकाहीँ १/२ वर्षपछि यस्तै एक्लै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए। कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाहीँ आफू एक्लै हुने खालको चिन्तन आउने गरेको उल्लेख गर्दै त्यसबारे चिन्तनमनन गरी दिन पनि वाम बुद्धिजीविहरूलाई आग्रह गरे।
‘कहिलेकाहीँ म पनि यस्तै हुँदो रहेछ। १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि र माओले भनेजस्तै ‘म एक्लो हुँ ’ भन्नुपर्ने हो कि? कहिलेकाहीँ यस्तो चित्र पनि मेरो दिमागमा आउँछ।’ उनले भने ।
तपाईंहरू यो पनि चिन्तनमनन गरिदिनुहोला,’ उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो? पुस्तकका टिप्पणीकारहरूले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनुभयो? यो व्यक्तिगत कुरा हो र? व्यक्तिगत प्रशंसा खोजेको कुरो हो र?,’
उनले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले नेपालको कम्युनिस्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका इतिहासहरूको सही समीक्षा गरेर अघि बढनुपर्ने आवश्यकता पनि औंल्याए।
त्यसक्रममा दाहालले फुटेर केही लछारपाटो नलागेकाले अब जुट्नुको विकल्प नभएको समेत बताएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धेरै पाठ सिकेको बताउदै अध्यक्ष दाहालले अब जुटेर जाँदा वैज्ञानिक समाजवाद आउने दावी समेत गरे। कार्यक्रममा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू पनि सहभागी थिए।