स्थानीय तहलाई पिपिई सेट हस्तान्तरण
विशाल पाण्डेय / कैलाली ।
कैलालीको विभिन्न स्थानीय तहहरुलाई पर्सनल प्रोटेक्टिभ ईक्यिुपमेन्ट (पिपीई) वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड -१९) को संक्रमणवाट बच्नका लागि सहज होस् भन्ने उदेश्यले कैलालीको ५ वटा स्थानीय तहलाई मंगलबार पिपिई सेट हस्तान्तरण गरिएको हो ।
बाल कल्याण संघ ,सामाजिक विकासका लागि सचेत समाज (cssd),दिगो बिकास समाज र वल्डभिजनको संयुक्त साझेदारीमा ७५ हजार रुपैयाँ बराबरको ५/५ थान पीपीई प्रत्येक स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।
नगरपालिकामा रहेका क्वारेन्टाइनलाई व्यवस्थापन गर्न पर्याप्त मात्रामा पीपीई पोशाक नहुँदा भएको समस्यालाई मध्यनजर गरि उक्त सामाग्री वितरण गरेको सीएसएसडीका फिल्ड अधिकृत कल्पना चौधरीले बताइन् ।
यस अघि पनि पाँच वटा स्थानीय तहलाई संयुक्त रुपमा चामल,सेनेटाईजर, साबुन, झुल ,पि फर्म ,त्रिपाल ,ब्ल्याङ्केट लगायतका सामाग्री उपलब्ध गराइएको बाल कल्याण संघका सामाजिक परिचालक मोहन बहादुर विकले जानकारी दिए । कैलालीको घोडाघोडी नगरपालिका ,भजनी ,टिकापुर, गौरीगंगा र कैलारी गाउँपालिकामा गरि संयुक्त रुपमा १० लाख ४० हजार बराबरको सामग्रीहरु हस्तान्तरण गरिएको जनाइएको छ ।
