जनताले काङ्ग्रेसलाई तिरस्कार गर्नुको कारण खोजौं : रामचन्द्र पौडेल
लमही । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर खोजि गरिनुपर्ने बेला आएको बताएका छन् । ‘जनताबाट तिरस्कार हुनुको कारण के हो ? यो सबैले मिलेर खोजौं’ उनले भने ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घ तुलसीपुरले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा स्वागत कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
नेता पौडेलले पार्टीले लिएको सिद्धान्त सबैले स्वीकार गर्नुपर्ने र पार्टीले निर्वाचनमा हार व्यहोर्नुपर्ने अवस्था आएकाले अब सबै नेता कार्यकर्ता सच्चिनुपर्ने धारणा राखे ।
‘अब सबै नेता कार्यकर्ता पार्टीका हितमा लाग्नुपर्छ, नेतृत्व पनि कार्यकर्तामुखी हुनुपर्छ’, पौडेलले भने ।
उनले कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने भन्दै अब काङ्ग्रेस कर्मशिल हुनुपर्ने बताए । ‘‘यो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हो काङ्ग्रेसको भविष्य निर्धारण यसैले गर्नेछ यसमा सबैले बिवेक पु¥याउनुपर्छ’, पौडेलले भने ।
नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले केही चमत्कार गर्छकी भन्ने आशा जनताले र आफूहरुले लिए पनि त्यो आशा निराशामा परिवर्तन हुँदै गएको बताए । ‘दुई तिहाइको सरकार अहिले अल्मलिएकोछ, राष्ट्रको विकास र समृद्धिको यात्रा काङ्ग्रेसले नै गर्छ’ उनले भने ।