कालापानीमा सांसद लैजाने पहिलो नेता म हो: रामचन्द्र पौडेल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कालापानीमा सांसद लैजाने पहिलो नेता म हो: रामचन्द्र पौडेल



भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्साबारे दिएको टिप्पणीले गर्माएको राजनीतिक माहोल झनै बहसमा गइरहेको छ । त्यसयता लगातार शीर्ष तहका नेताहरुको अभिव्यक्ति आइरहेको छ । ‘ओलीको सहमतिमा नै भारतले नक्सा सार्वजनिक गरेको’ अभिव्यक्तिलाई देउवाले निरन्तरता दिएका छन्, भने पार्टी प्रवक्ताले कांग्रेसको र देउवाको ‘ठहर तथा आशंका रहेको’ प्रष्टिकरण दिएका छन् ।

यो प्रकरण बुधबार पनि चलेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘कालापानीको विषयमा कम्युनिष्टले दुष्ट प्रयास गरेको’ टिप्पणी उनले गरेका छन् । उनले यतिमात्र भनेनन्, आफू सभामुख हुँदा ‘कालापानीमा सांसद लैजाने पहिलो नेता’ भएको दाबी समेत गरे ।

यहाँका स्थानीय कम्युनिष्टले सभामुख भएको बखत कालापानीको विषयमा ल्याइएको प्रस्ताव रोकेको भनेर दुष्प्रचार गरेको पाएँ । त्यो ठाउँमा संसदीय दल, संसदीय प्रतिनिधीमण्डल, संसदीय टोली, म सभामुख थिएँ, मैले लिएर गएँ मैले नै त्यहाँ ध्यानाकर्षण गराएको छु,” उनले भने ।


त्यो बेलामा कुनै प्रस्ताव आएको थिएन, म नै त्यो पहिलो नेता हो नेपालको जसले आफ्ना सांसद, नेकपाका नेता भरतमोहन अधिकारी कम्युनिष्ट पार्टीका नेता र तथ्यांक विभागका महानिर्देशकलाई समेत लिएर कालापानी गएको र त्यसपछि तथ्यांक पेश गरेको उनले दाबी गरे ।

कालापानीको विषयमा कहिल्यै कसैले पनि संसदमा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको उनले दाबी गरे । झुटो प्रचार गरेर भ्रम सिर्जना गरेकोमा उनले घोर भत्र्सना पनि गरे ।

“मैले त्योबेलामा रोक्ने कुनै पनि प्रस्ताव कसैले ल्याएको पनि थिएन, र त्यो प्रस्ताव मैले रोक्ने कुरा पनि थिएन र मैले रोकेको पनि छैन् । यो झुटो प्रचार यहाँ गरेको, जनतालाई गुमराहमा पार्ने, भ्रम सिर्जना गर्ने दुष्प्रयास भइरहेको छ, यो दुष्प्रयास मात्र होइन दुष्ट प्रयास हो । म यसको घोर भत्र्सना गर्दछु, इतिहासको तथ्यलाई बंग्याउन पाइँदैन, कालापानीको इस्युलाई मैले नै अगाडि ल्याएको मान्छे हुँ म,” उनले भने ।

यस्तै, उनले सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पार्ने दुष्प्रयास भइरहेको आरोप समेत लगाए । निष्पक्ष चुनाव गर्न उनले प्रशासनलाई आग्रह समेत गरे ।