अबको चुनाव पनि हामीले जित्छौँ, अर्थमन्त्री म नै बन्छु: विष्णु पौडेल - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

अबको चुनाव पनि हामीले जित्छौँ, अर्थमन्त्री म नै बन्छु: विष्णु पौडेल



काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले चुनाव जितेर नेकपा (एमाले)कै सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने दाबी गरेका छन्। 

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको बजेटपछिको छलफल (भर्चुअल) कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले आफ्नो जनताप्रतिको जिम्मेवारी पूरा गर्न र संविधानको कार्यान्यवन गर्नको लागि बजेट ल्याएको बताउँदै विपक्षीहरूले बजेटका विषयमा आलोचना गर्ने ठाउँ समेत नभेटेको प्रतिक्रिया दिए। उनले राजनीतिक दलहरूलाई बजेटका बुदाँभित्र बसेर टिप्पणी गर्नको लागि पनि आग्रह गरे। 

उनले बजेट नल्याउन भनी बिभिन्न पक्षहरूले गरेका टिप्पणी जिम्मेवार नभएको पनि बताएका छन्। मन्त्री पौडेलले भने, “निर्वाचन घोषणा गरिएको बेला बजेट ल्याउन हुँदैन भन्नु कोभिड–१९ विरुद्धको खोप पनि नल्याउ, कोरोनाको विषम परिस्थितिसँग पनि नजुध भनेको जस्तै हो।”

उनले सरकार जनताको स्वास्थ्यप्रति जिम्मवार भएकै कारणले सबै जनतालाई भ्याक्सिन उपलब्ध गराउने अभिभाराका साथ बजेट ल्याइएको बताए। 

सरकारले आगामी आर्थिक वर्षको लागि अध्यादेशमार्फत ल्याएको बजेट राम्रो हुँदाहुँदै पनि कार्यान्वयनमा शंका गरिएको भन्दै अर्थमन्त्री पौडेलले कार्यान्वयन गरी देखाइने बताए। त्यसको लागि उनले सोमबारबाट नै सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग छलफल शुरु गर्न थालेको बताएका छन्। 

निर्वाचन सरकारको रोजाई नभएको र परिस्थितिको बाध्यता भएको तर बजेट कार्यान्वयनमा निर्वाचनले असर नगर्ने उनको भनाइ छ। 

अर्थसचिव शिशिरकुमार ढुंगानाले पनि बजेट कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। बजेट कार्यान्वयन समयमै गर्नको लागि बजेटमार्फत केही नयाँ सुधारको प्रयास भएको बताए। बजेट कार्यान्यवनको लागि नियमित प्रकियाबाट नगई रु. ५ अर्बभन्दा बढी आयोजनामा नयाँ संरचना बनाउने विषयमा छलफल चलिरहेको उनले जानकारी दिए।

जग्गा प्राप्तिलाई सहज गराइने, बजेट सूचना प्रणाली (एलएमबीआएएस)लाई संशोधन गरी रकमान्तर र कार्यक्रम संशोधन सम्बन्धित मन्त्रालयले गर्न सक्ने व्यवस्था गरिने तथा आयोजनालाई सुक्ष्म ढंगले विश्लेषण गर्न आयोजना प्रमुख र सचिवलाई जिम्मेवार बनाइने व्यवस्था गरिने ढुंगानाले बताए।  

सचिव ढुंगानाले विचार गरेर नै सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिएको बताए। उनले दीर्घकालिन रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता बनाइने बताए। 

बजेट सकारात्मक निजी क्षेत्र

निजी क्षेत्रका प्रतिनिधीहरूले बजेट निजी क्षेत्रमैत्री भएको भन्दै खुसी व्यक्त गरेका छन्। कार्यान्वयनमा शंका गर्दै निजी क्षेत्रका प्रतिनिधिले बजेटमा उल्लेख गरिएका कुरा यथाशिघ्र छिटो कार्यान्वयनमा लैजान आग्रह गरेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले यसपालीको बजेटले निजी क्षेत्रलाई सरप्राइज दिएको बताए। “निर्वाचनको घोषणा गरिसकेको सरकारले हाम्रा माग सम्बोधन गर्न सक्दैन कि जस्तो लागेको थियो, यद्यपि हाम्रा ६० प्रतिशत सुझाब सम्बोधन भएका छन्। कोभिड खोपको व्यवस्थाका लागि बजेट विनियोजन, बिभिन्न क्षेत्रमा विशेष सहुलियत आदि घोषणा गरिएकाले बजेट सकारात्मक छ,” गोल्छाले भने। 

निषेधाज्ञा अवधिको डिमान्ड शुल्क छुट, होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाई सेवा, चलचित्र उद्योग, संचारगृहको करयोग्य आयमा १ प्रतिशत मात्र आय कर तिर्नुपर्ने व्यवस्थालाई १० वर्षसम्म गर्न सकिने, स्टार्टअपलाई प्राथमिकता दिइनु, डिजेलमा भ्याट फिर्ता हुने व्यवस्था कायम गरिनु सकरात्मक पाटो भएको उनले बताए।  

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले कार्यान्वयन र बजेटले राखेको लक्ष्य पूरा गर्न चुनौतिपूर्ण भए पनि बजेट सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले समयमै सर्वसुलभ खोपको व्यवस्था गर्न सकेमा आर्थिक क्रियाकलाप विस्तार भई साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने बताए। 

उनले साना तथा मझौला उद्योगलाई बजेटले दिएका सुविधा अपुग हुने भन्दै मौद्रिक नीतिमार्फत सम्बोधन गरिनु पर्ने बताए। विगतमा पनि कतिपय राम्रा कार्यक्रमको कार्यान्वयन नभएको उल्लेख गर्दै उनले भने, “बजेट कार्यान्वयनमा चुनौति छ, पहिलेदेखि प्रतिमेगावट ५० लाख रुपैयाँसम्मको भ्याट छुट दिने भनिएको थियो, अहिलेसम्म कार्यान्वयन भएको छैन।” 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बजेट निजी क्षेत्रमैत्री रहेको प्रतिक्रिया दिए। खुद्रा व्यवसायीको थ्रेसहोल्ड १ करोड पुर्याउनु, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा आवश्यकता अनुसारको बजेट विनियजन गरिनु, सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम निजी क्षेत्रमार्फत पनि खर्च गर्न पाइनु सकारात्मक पाटो भएको उनले बताए।