विष्णु पौडेलमाथि गम्भीर आरोप - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

विष्णु पौडेलमाथि गम्भीर आरोप



काठमाडौं- सत्तारुढ गठबन्धनको साथ पाएका राष्ट्रिय जनमुक्ति पार्टीबाट रुपन्देही क्षेत्र २ मा प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अन्यत्रै सार्ने कामको अगुवाइ एमाले उपाध्यक्ष विष्णु पौडेलले गरेको गम्भीर आरोप लगाएका छन्।

सो क्षेत्रमा थापा र पौडेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। चुनावी प्रचार अभियानलाई तीव्रता दिएका थापाले मंगलबार आयोजित घरदैलो कार्यक्रममा पौडेलकै अगुवाईमा लुम्बिनीको राजधानी दाङको अनकन्टार ठाउँमा लैजाने काम भएको बताए।

उनले मुलुकलाई राष्ट्रिय सहमतिका साथ अघि बढाउन पनि सत्तारुढ दलहरूले मिलेर चुनावमा लड्नु परेको दाबी गरे। संविधानको रक्षा गर्न, संघीयता, गणतन्त्र र समावेशीताको रक्षा गर्न आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले जित्नुपर्ने उनको भनाइ थियो।

‘भूमिहीन सुकुम्बासीका बारेमा कुनै पनि सुनुवाई नहुने‚ हाम्रो ठाउँमा वाचा गरिएको प्रदेशको राजधानी रातारात खोसेर कुनै अनकण्टार ठाउँमा लगेर सार्ने यस्ता खालका राजनीतिक बेइमानहरूको हातमा सत्ता जाने खतरा छ। त्यसबाट हामीले आफ्नो अभिमत जोगाउनु पर्छ।

गठबन्धनको एउटा साझा संकल्प छ–संविधानको रक्षा गरेर देशमा आजसम्म हामीले जुन आन्दोलन गर्‍यौं‚ संघर्ष गर्‍यौं, क्रान्ति गर्‍यौं अनि बलिदानबाट जे–जे उपलब्धि प्राप्त गर्‍यौं‚ त्यसलाई जोगाउनु पर्‍यो नि। त्यो उपलब्धि जोगाएर नपुगेका केही कुराहरू छन् भने एउटा राष्ट्रिय सहमतिको बाटोबाट अगाडि बढ्नु पर्‍यो’, उनले भने, ‘ मुलुकलाई आजसम्म औद्योगिकीकरणको बाटोमा लैजान सकिएको छैन। जबसम्म औद्योगिक युगमा लैजान सकिँदैन, रोजगारी पनि सृजना हुँदैन।’

थापाले आफूहरूले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण गर्ने, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासनसमेत दिए। त्यस क्षेत्रमा रहेका सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।