पोर्चुगलको टोली घोषणा, रोनाल्डोको नेतृत्वमा ३९ वर्षीय पेपे पनि - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

पोर्चुगलको टोली घोषणा, रोनाल्डोको नेतृत्वमा ३९ वर्षीय पेपे पनि



क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ। रोनाल्डोको कप्तानीमा रहेको २६ सदस्यीय टोलीमा केही नियमित सदस्यहरु भने छुटेका छन्। केही चोटका कारण सामेल छैनन् केही प्रशिक्षकको नजरमा पर्न सकेनन्।

पोर्चुगलको टोलीमा बर्नान्डो सिल्भा, ब्रुनो फर्नाडेज र जोआओ फेलिक्स संलग्न छन्। तर प्रशिक्षक फर्नान्डो सान्तोषले बिहीबार छनोट गरेको २६ सदस्यीय टोलीमा जोआओ माउटिन्हो, जोसे फोन्टे र रेनाटो सान्चेज भने अटाउन सकेनन्। लिभरपुलका डियगो जोटा पनि कतार जाने छैनन्।

टोलीमा जोआओ क्यान्सेलो, रुबेन डायस र ३९ वर्षीय सेन्टर डिफेन्डर पेपे भने अटाएका छन्। १९ वर्षीय डिफेन्डर एनटोनियो सिल्भा पनि कतार जानेछन्।

३७ वर्षीय रोनाल्डो करियरमा पहिलो पटक लय गुमाइरहेका छन्। तर पनि उनको नेतृत्वमा पोर्चुगल पहिलो पटक विश्वकप जित्ने सपनामा रहँदा त्यसको नेतृत्व उनैले गर्नेछन्।

२०१६ को युरोपियन च्याम्पियन बनेको पोर्चुगलले २०१९ मा नेसन्स लिगको उपाधि पनि उचाल्यो। तर २०१८ को विश्वकपमा अन्तिम १६ मा समेत पुग्न सकेको थिएन। २०२० को युरोकप पनि पोर्चुगलका लागि सम्झन लायक रहेन।

विश्वकपमा पोर्चुगल समूह एचमा रहेको छ। गत वर्ष पोर्चुगललाई बिदा गरेको उरुग्वे पनि सोही समूहमा छ। घाना र दक्षिण कोरिया पनि समूह एचमै छन्।

गोलरक्षक : डिओगो कोस्टा, रुई प्याट्रिसियो, जोसे सा
डिफेन्डर : डिओगो डालोट, डानिलो परेरा, जोआओ क्यान्सेलो, एन्टोनियो सिल्भा, पेपे, रुबेन डायस, नुनो मेन्डेस, राफेल गुरेइरो
मिडफिल्डर : विलियम कार्भाल्हो, रुबेन नेभ्स, ओटाभियो मोन्टेइरो, बर्नान्डो सिल्भा, म्याथियस नुनेस, ब्रुनो फर्नान्डिस, जोओ मारियो, जोओ पाल्हिन्हा, भिटिन्हा
फरवार्ड : आन्द्रे सिल्भा, रिकार्डो होर्टा, क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, राफेल लिओ, गोन्कालो रामोस