प्रहरी भाग्यो कि सरकार भाग्यो ? - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

प्रहरी भाग्यो कि सरकार भाग्यो ?



काठमाडौं – सोमबार बिहानैदेखि सामाजिक सञ्जाल, समाचार अनलाईन, टेलिभिजनसम्म सर्वत्र चर्चा र कौतुहलताको विषय बन्यो सोलुखुम्बु को प्रहरी चौकीमा विप्लवको कब्जा । रातको १२ बजे सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकीमा रहेका प्रहरीहरूको एकाएक भागे। प्रहरीले सुचना पाएर कुलेलाम ठोकेको, चौकी नै खालि गरेर भागेको यो पहिलो घटना होला ।

यो सामान्य घटना होइन, त्रासले भरिएर देश र जनताको सुरक्षामा खटिएका प्रहरीनै कुलेलाम ठोकेर भाग्ने, एउटा निराधार हल्लासँग, त्यो पनि प्रतिबन्धित समुहका कार्यकर्तासँग ?

जनताको जिउ-धनको सुरक्षाका लागि खटिएका प्रहरी आफै भाग्न पुगे। यसको कारण थियो विप्लवका कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्दैछन भन्ने सूचना। चौकी कब्जाको सूचना पाएपछि चौकी नै खाली गरेर हिडेका प्रहरीका कारण प्रहरीको बफादारीप्रति प्रश्न त उठ्यो त्यो भन्दा धेरै हाम्रो गृह प्रशासन, प्रहरी नेतृत्व पनि काबिल छैन भन्ने गलत संदेश प्रवाह भयो।

बिप्लवका कार्यकर्ताले खाली चौकी कब्जा गर्दै रातभर त्यही बिताए। चौकी कब्जा गरेको गर्व गरेका विप्लवका कार्यकर्ताले टर्च लाईट वरिपरी झल्याकझुलुक गर्दै खुसियाली मनाइरहे। प्रहरी हेडक्वाटरमा अहिले यस्तै सूचना प्राप्त भएको एक अधिकृतले बताए। उनका अनुसार बिहान उज्यालो हुने बित्तिकै उनीहरू संखुवासभा तर्फ लागेका थिए।

माओवादी जनयुद्धताका हुने घटना र यो घटनाको ताल लगभग मिल्छ। बिप्लव समूहले जनयुद्धको घोषणा गरेको छैन। तर, २०५२ साल फागुन १ गते माओवादीले जनयुद्ध घोषणा गरेको थियो। जनयुद्ध घोषणा नगरेपनि विगत केही समयदेखि विप्लव समूहले मुलुकभर हिसात्मक गतिविधि बढाइरहेको थियो। विप्लव समूहको आइतबार रातिको सोलु आक्रमणले २०५२ सालमा तत्कालीन युद्धरत माओवादीले रोल्पाको महत चौकीमा गरेको पहिलो आक्रमणकै झल्को दिने खालको भएको छ।

समयमै सूचना पाएको प्रहरीले थप सुरक्षा संयन्त्र मगाउनुपर्ने, उनीहरुलाई बाटोमै रोक्नुपर्ने लगायताका काम गर्नुपर्नेमा चौकी नै छोडेर भागेको भन्दै अहिले चर्को आलोचना भइरहेको छ। जानकार र सुरक्षाविद्हरुले यो राज्यको नालायकीपन भएको बताएका छन्। सहरमा राज्यले विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने र गाउँमा चौकी खाली गरेर भाग्ने प्रवृतिले सरकार निकै कमजोर रहेको पुष्टि हुन्छ।

सोलुको प्रहरी चौकीबाट यो प्रहरी भागेको होइन सिंगो सरकार र राज्य संयन्त्र भागेको हो। संयोगबस चौकीमा बमको आवाज आएन तर सरकार डरायो, थर्कमान भयो । यसबाट प्रहरी संयन्त्र विप्लव समूहदेखि कति त्रसित छ भन्ने स्पस्ट पनि हुन्छ।

चौकीमा विप्लव कार्यकर्ता आउने सूचना पाएपछि प्रहरी भाग्नु किमार्थ सहि होइन। यसमा राज्य र विप्लव समुहका आ आफ्नै दावी आइसके, विप्लव समुहले पनि हल्ला मात्रै भएको र आफ्नो चौकी आक्रमण गर्ने नीति नभएको बिज्ञप्ती जारी गरिसके । विज्ञप्तिपछी झन् धेरै आलोचना प्रहरीको नेतृत्व र सरकार आलोचित हुने पक्का छ कि एउटा निराधार हल्लाले प्रहरी कुलेलाम ठोक्छ ।

यो मात्रै होइन गाउँ ठाउँमा प्रहरी चौकी र बर्दिप्रती निकै भरोशा हुन्छ, प्रहरी भन्ने शब्दले नै जनता सुरक्षित महसुस गर्छन, जब देशका दूरदराजका गाउँहरुमा यो हल्ला पुग्छ अनि त्यो भरोशा भन्ने चिज के होला ? कुनै एउटा निराधार हल्लाले प्रहरीको एउटा समूह चौकी खालि गरेर कुलेलाम ठोके भन्ने बुझेपछि मनमा के लाग्ला ? कठै…
यो घटनामा एउटा कुरा भने प्रष्ट हुनुपर्यो प्रहरी भाग्यो कि सरकार ?