पुलिसलाई हराउंदै एपीएफ फाइनलमा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

पुलिसलाई हराउंदै एपीएफ फाइनलमा



प्रधानमन्त्रीकप एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफले नेपाल पुलिसलाई ९ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा एपिएफले संयमित ब्याटिङ गर्दै आर्मी विरुद्धको उपाधि भिडन्त तय गर्न सफल भयो। पहिले ब्याटिङ गरेको एपिएफले पुलिस विरुद्ध २ सय ८ रन जोडेको थियो तर वर्षा भएपछि पुलिसले २८ ओभरमा १ सय ४१ रनको नयाँ लक्ष्य पाएको थियो।

जहाँ पुलिस निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाउन सक्यो। टस जितेर पहिलो ब्याटिङ गरेको एपिएफले ४८ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमाएर २ सय ८ रन बनाएको थियो। पुलिस भने लक्ष्य पछ्याउने क्रममा वर्षाको सिकार हुन पुग्यो। १४.५ ओभरमा २ विकेट गुमाएर ५९ रन बनाउँदा वर्षा भएपछि खेलमा नयाँ लक्ष्य पायो । तर भिजेको मैदानमा पुलिसले आक्रामक इनिङ खेल्न सकेन्। पहिलो ब्याटिङ गरेको एपिएफले राम्रो सुरुवात दिन सफल भयो ।

उसका लागि ओपनरहरु सुवास खकुरेल र अनिल साहले पहिलाे विकेटका लागि ५७ रनको साझेदारी गरे। खकुरेल २१ रनमा आउट भएपनि साहले ७९ बल खेल्दै ६ चौकाको मद्दतमा ४५ रनको स्कोर तयार गरे। सुरुवाती पाँच ब्याटसम्यानले संयमित इनिङ खेलेपछि एपिएफले २ सय रनको आँकडा पार गर्न सफल भयो। उसका लागि थप बढी स्कोरका रुपमा पृत्थ्यु बाँस्कोटाको ४० रन रह्यो। उनले ४८ बलमा ५ चौका प्रहार गरेका थिए।

त्यस्तै प्रदिप ऐरीले २४ रन बनाउँदा रोहित कुमार पौडेलले ५६ बल खेल्दै ३२ रन बनाएका थिए कप्तान बसन्त रेग्मीले १४ रन जोडे। एपिएफ विरुद्ध जितको राम्रो आधार भएपनि पुलिसको पछिल्लो क्रम पर्याप्त रन बनाउन असफल भयो। पुलिसका लागि अन्तिम ओभरसम्मपनि अपेक्षा कायम थियो तर पवन सराफले कुसल भुर्तेललाइ २७.१ ओभरमा रनआउट गरेपछि उसको जितको सम्भावना टरेको थियो । भुर्तेलले ३० बलमा ३० रन बनाएका थिए जुन पुलिसका लागि सर्वाधिक स्कोरका रुपमा रहेको थियो। प्रतियाेगिताकाे फाइनल खेल साेमबार हुने छ।