प्रहरी निरीक्षक नै चोर बनेपछि…
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझा चोरीको घटनामा मुछिएका छन् ।
ओझा एक्साभेटरको पार्टपूर्जा चोरीसम्बन्धी घटनामा मुछिएका छन् ।
चौकी इञ्चार्जसमेत रहेका ओझा चोरीको घटनामा संलग्न देखिएपछि प्रदेश प्रहरी कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
जंगलको जग्गामा पोखरी खनेर क्षति पुर्याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरिया भत्रे स्थानबाट एक्साभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको थियो । केही दिनपछि एक्साभेटर धनी जनुलाल महतो इलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा एक्साभेटरको पार्टपूर्जा निकालिएको पाएका थिए ।
महतोले बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले ६ लाख मूल्य बराबरको पार्टपूर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा ओझालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।