ईश्वर पोखरेलको एक वचनले एमाले एकता नहुने पक्का: ओलीको दाबी गलत - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

ईश्वर पोखरेलको एक वचनले एमाले एकता नहुने पक्का: ओलीको दाबी गलत



काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच नै कुरा बाझिएको छ । अध्यक्ष ओलीले एमाले जेठ २ गरे फर्किसकेको बताइरहेका बेला ईश्वर पोखरेलले भने जेठ २ मा एमाले फर्किन नसक्ने बताएका छन् ।

ओलीलगायत उनी निकट धेरै नेताहरूले एमाले जेठ २ मा औपचारिक रूपमै फर्किएको जिकिर गरेका बेला पार्टीकै महासचिवले भने जेठ २ मा फर्किन नसकिने अभिव्यक्ति दिएपछि एमालेको मुद्दा थप पेचिलो बनेको छ । पोखरेलले पार्टीको केन्द्रीय कमिटीमै यस्तो बताएपछि दुई समुहको दुरी झनै बढ्ने देखिएको छ।

यसअघि नै एकताविरोधी भनेर चिनिएका नेता ईश्वर पोखरेलले एमालेको अर्को समूह झलनाथ खनाल-माधवकुमार नेपाल पक्षले भन्दै आएको २०७५ जेठ २ को सर्त स्वीकार्न नसकिने बताएका हुन् । बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।

छलफलका क्रममा शनिबार केन्द्रीय कमिटी सदस्यले राखेका प्रश्न तथा दिएका सुझावको जवाफ दिने क्रममा महासचिव पोखरेलले भने, ‘नेकपा एकीकरणका बेलाको भावनामा अगाडि बढेका छौँ । माधव नेपालहरूले जेठ २ लाई यान्त्रिक रूपमा राख्नुभएको छ, त्यो स्वीकार्न सकिन्न,’ उनले भने ।

२०७५ जेठ २ यता पार्टीमा धेरै व्यक्ति जोडिएको भन्दै पोखरेलले जिल्ला र प्रदेश तहमा पनि त्यसरी नै अगाडि बढ्न निर्देशन दिए । पोखरेलले थपे, ‘जेठ २ का नाममा पार्टी एकतालाई कमजोर बनाउने, भत्काउने र पार्टीलाई अस्तव्यस्त बनाउनेलाई जिम्मेवारी दिन सकिँदैन ।’ यो विषयमा प्रष्ट हुन जरुरी रहेको उनले बताए ।

उनको यो अभिव्यक्तिले पनि एमालेक दुई समूहबीच एकता नहुने पक्का देखिएको छ।