पोखरामा दुई होलिकोप्टरको आपत्कालीन अवतरण
पोखरा- बुधबार बिहान पोखरामा २ हेलिकप्टर आपतकालीन अवतरण गरिएको छ ।
बुधबार बिहानैदेखि प्रतिकूल मौसमको कारण बाक्लो हुस्सुले पोखराको आकाश खुल्न सकेको छैन भने पोखराको हवाई उडान प्रभावित बनेको छ ।
बिहानदेखि पोखरा क्षेत्रमा हुस्सु लागेर दिउँसै अध्यारो भएजस्तो हुँदा हवाई उडान प्रभावित हुँदा करिब ७० लाख मुल्य बराबरको कारोबार प्रभावित भएको छ ।
बुधबार पोखरादेखि काठमाडौं, पोखरा भैरहवा, पोखरा जोमसोम, पोखरा भरतपुरमा हुने नियमित हवाई उडान प्रतिकूल मौसमका कारण रद्द भएको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।
बुधबार बुद्ध एयरको पोखरा काठमाडौंतर्फ ८, यति एयरलायन्सको पोखरा काठमाडौं ७, सिम्रिक एयरको पोखरा काठमाडौं ३, तारा एयरको पोखरा जोमसोम २, बुद्ध र यतिको भैरहवा तथा भरतपुर एक-एक र समिट एयरको पोखरा जोमसोम एउटा हवाई उडान रद्द भएको हो ।
पोखराबाट बुधबार १८ वटा हेलिकोप्टर उडान भएको प्राधिकरणले जनाएको छ । एउटा हेलिकोप्टर उडान पोखरा काठमाडौंका लागि भएको छ भने १७ वटा अन्नपूर्ण बेसक्याम्पका लागि हवाई उडान भएको हो ।
अन्नपूर्ण बेसक्याम्पबाट पोखरा विमानस्थलतर्फ फर्किने क्रममा बिहान करिब १०ः०८ बजे हुस्सुले अध्यारो भएकोले केही समय पोखरा १६ लामाचौरको गोस्तेघाँटमा खेल मैदानमा आपतकालिन अवतरण गरेको थियो । एयर डाइनोस्टिक र सिम्रिकको होलिकोप्टरले आपतकालिन अवतरण गरेको प्रमुख गरागांई ले बताए ।
पोखरामा करिब २५ वटा हवाई उडान रद्द हुँदा र पोखरामा सहासिक खेल प्याराग्लाइडिङ तथा अल्ट्रालाइटसमेत पूर्णरूपमा प्रभावित हुन पुगे । प्रतिकूल मौसमका कारण बुधबार करिब एक सय ५० वटा प्याराग्लाईडिङ उडान रद्द भएको बताइएको छ ।
हाल दैनिकजसो १ सय ५० वटा प्याराग्लाइडिङको हवाई उडान हुने गरेको छ । पोखरामा प्रतिकुल मौसमका कारण हवाई उडान तथा प्याराग्लाइडिङ उडान रद्द हुँदा करिब ७० लाख मूल्यबराबरको कारोवार ठप्प भएको व्यवसायीहरूले बताएका छन् ।
केही दिनअघि पोखरामा अत्याधिक वर्षा हुँदा करिब १० वटा हवाई उडान रद्द भएको थियो ।
यती एयरलायन्सका अमृत सिंहले प्रतिकूल मौसमका कारण अग्रिम टिकट बुकिङ गरेका केही यात्रुको रकम फिर्ता गरिएको त केहीको बिहीबारका लागि हवाई उडान गराइने गरी सारिएको बताए ।
यसरी हवाई उडान रद्द हुँदा केही पर्यटक सडक मार्ग हँदै आफ्नो गन्तव्यमा लागेका थिए । यस सिजनकै पहिलो पटक प्रतिकुल मौसमका कारण पोखराका सम्पूर्ण हवाई फ्लाईट रद्द भएको हो ।