कवित - रात - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कवित – रात



अशोक नेपाल

अचेल
रातभर अनिँदो बस्छन्
यी शहरहरु

साँघुरा गल्लीहरुमा चलिरहेछन्
देहव्यापारको मेला
रौसिंदै सरिक भएकाछन् मेलामा
पितृसत्तात्मक समाजका केही ठेकेदारहरु

जिन्दगी मुर्झाएपछि फुलेका
रङ्गीन फुलहरुले मेटीरहेछन्
योवनको मृगतृष्णा ।

लेनिनका नाराहरु छोपेर
टाँसिएको छ
अर्धनग्न युवतीको
एक उत्श्रीन्ख्ल पोस्टर
पोस्टरभन्दा ठिक अगाडी
आफ्नो ‘डिग्री’ धितो राखी किनेको
डिजाइनर आउटफिटमा उभिएकीछे
एक जवान युवती ।

महिनौं भयो,
त्यही पोस्टर सामुन्ने उभिएर
रातभर देखिरहन्छे ऊ
सम्मपन्नताका सपना
सपनाको आडमा
लुटीरहेछन् यी रातहरुले
ऊ भित्र बाट
हजारौं ‘पेग’ जिन्दगी

आजको रात
सायद अलि बढी
चिसो भएको छ फुटपाथ
लेनिनका नाराहरु अगाडी
अर्धनग्न युवतीको पोस्टर ओछ्याएर
मस्त निदाएको छ
एउटा बुढो भिखारी
साँच्चै
बडो निस्ठुरी हुन्छन्
यी लुटेरा रातहरु ।